समाज

आन्द्रामा प्वाल पर्दा सिकिस्त भएका तास्मिनको सहयोगमा अभियान (अपडेट)

आन्द्रामा इन्फेक्सन भएपछि उपचारमा लगिएका तास्मिन राई । तस्बिर : नागरिक

खोटाङ– आन्द्रामा इन्फेक्सन भएपछि सिकिस्त बिरामी भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ (छुप्लुङ)का २४ वर्षीय तास्मिन राईको बचाउका लागि सहयोग अभियान चलाइएको छ । स्वास्थ्यमा समस्या आएपछि डेढ महिनादेखि थलिएका राईको जीवन बचाउका लागि आफन्त तथा शुभेच्छुकले सहयोग अभियान चलाएका हुन् ।  

आन्द्रामा प्वाल परेको ठाउँमा इन्फेक्सन भएका राईको हाल विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । लकडाउनकैबीचमा अस्पतालमा आइसियूमा राखेर उपचार गराइरहेका तास्मिनको शरीरले गत शुक्रबारदेखि रगत समेत लिन नसकेको स्थानीय अगुवा जगत किरातीले बताए । शुक्रबार बेलुका शल्यक्रीया गरिएका राईको हालसम्म होस खुल्न सकेको छैन ।  

तास्मिनको उपचारकाक्रममा आर्थिक समस्या भएपछि आफन्त तथा शुभेच्छुकले ‘तास्मिन उपचार सहयोग’ अभियान चलाएका हुन् । विभिन्न अस्पताल चाहार्नेक्रममा राई परिवारको हालसम्म ९ लाखभन्दा बढि खर्च भइसकेको छ । गाउँमा जगत किराती, मलेसियामा किशोर पुमा राई, कोरियामा दिपक राई, हाङकङमा भुपजित राई र धरानमा किरात पुमा राई तुप्खालाबांखाला सुनसरीका केदार पुमा राईले तास्मिनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिरहेका छन् । हालसम्म साँढे ४ लाखको हाराहारीमा सहयोग रकम संकलन गरिएको अभियान्ता किरातीले बताए ।  

सुरुमा जन्तेढुंगा गाउँपालिकाकै प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, उदयपुरको गाईघाट हुँदै बिराट नर्सिङ होम बिराटनगर लगिएका राईलाई धरान पुर्‍याएपछि मात्र आन्द्रामा पुरानो प्वाल देखिएको र सो प्वालमा इन्फेक्सन भएको पत्ता लागेको हो । बिराट नर्सिङ होममा १८ दिन राखिएका राईको मिर्गौला र फोक्सोमा समस्या देखिएको भन्दै शल्यक्रीया गरेर फोक्सो र मिर्गौलामा जमेको पानी निकालिएको आफन्तले बताए छन् । उपचार गर्दा पनि निको नभएपछि उनलाई नर्सिङ होमले धरान रेफर गरेको थियो ।  

धरान पुर्‍याएपछि पहिला लड्दा आन्द्रामा प्वाल परेको र सोही ठाउँमा इन्फेक्सन भएकाले समस्या निम्तिएको पत्ता लागेको थियो । सिकिस्त अवस्थामा पुगेका राईको श्रीमती र सात महिनाकी छोरी छन् । ‘हालसम्मको बिरामीको उपचारमा साँढे नौ लाखभन्दा बढि खर्च भइसकेको छ,’ किरातीले भने, ‘बिरामीको सहयोगार्थ रकम संकलन भइरहेको छ तर लकडाउनले अभियान चलाउन गार्‍हो भइरहेको छ ।’  

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०९:१७ बुधबार

विविध राहत