धादिङ- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन देश लकडाउन भइरहदाँ मारमा परेका किसानहरु तरकारी बालीमा लागेको रोगले चिन्तित छन् । धादिङको थाक्रे गाउँपालिका वडा नं ११ वालुवाफाँट तथा आसपासका क्षेत्रमा लगाइएको करेला बालीमा रोग लागेको छ । ७२ परिवार किसानले दुई सय छ रोपनी जग्गामा लगाएको करेला खेतीमा पँहेलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका हुन् ।
किसानले आफ्नो तर्फबाट गर्न सक्ने र एग्रोभेटले भित्त्राएका कडा विषादीहरु समेत प्रयोग गर्दा रोकथाम नभएपछि गाँउपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिलाई समेत तरकारी बाली लगाएकै स्थानमा बोलाएर देखाइसकेको आग्रामहेश संयुक्त कृषि फर्मका सञ्चालक केशव रुपाखेतीले बताए । ‘लकडाउनले एकातिर टिप्नेबेला भएको तरकारी बारीमै कुहाउनु परेको छ, अर्कोतिर फुल फूल्ने बेला भएको करेलामा रोग देखियो,’ रुपाखेतीले भने, ‘बालीमा कस्तो रोग हो भनेर पत्ता लगाउन बाली रोग प्रयोगशाला हरिहर भवन पठाएको छ ।’
किसानहरु तरकारी खेतीमा व्यावसायिक बन्दै गर्दा समस्याहरु पनि थपिँदै गएका छन् । कतै हरियो तरकारी बेच्न नपाएको, कतै तरकारीको लागत मूल्य समेत नपाएको, तरकारी बालीमा रोग लागेको, मल बीउ समयमै नपाएका र बिचौलियाहरुबाट हेपिएको जस्ता समस्या दिनहुँ आइरहेको छन् । अहिले लकडाउनका कारण उपभोक्ताले आवश्यकता अनुसार तरकारी खान पाएका छैनन् भने किसानले फलाएको तरकारी बेच्न सकिरहेका छैनन् । तर वालुवाफाँटमा लगाइएको करेला टिप्न नपाउने अवस्थामा पुगेको छ । करेला बालीमा रोग देखिएपछि लगानी फिर्ता नहुने अवस्था आउदाँ किसान चिन्तित भएका छन् ।
आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने अठोट लिएर स्थानीय छ जना युवाहरुले सञ्चालन गरेको आग्रामहेश संयुक्त कृषि फर्ममा यस वर्ष २६ रोपनी जग्गामा करेला खेती गरेका छन् । गत वर्ष ३४ हजार किलो करेला बेचेर १८ लाख आम्दानी भएको थियो । वार्षिक तीन लाखमा जग्गा भाडामा लिएर एक लाख लगानी गरेर करेला लगाएको फर्मका अध्यक्ष वतराज विडारीले बताए । बजारमा बिक्री गर्नुपर्ने बेलाको करेलाको झाल धमाधम पहेँलो भएर मर्न थालेपछि आम्दानी लिन तयार हुनुपर्ने बेलामा रोग लागेको करेलाको बोट हेरेर बस्न बाध्य हुनुपरेको किसानहरु बताउँछन् ।
हरेक बोटबाट यतिखेर ५/६ किलोग्राम करेला उत्पादन भइसकेको हुन्थ्यो तर लगाएको सबै करेलामा रोग लागेपछि किसानहरु चिन्तामा परेका हुन् । हरेक वर्ष थाँक्रा फेरिरहनु पर्ने अवस्थाबाट मुक्त हुन फर्मले फलामको स्थायी पोलमा दुई लाख पचास हजार खर्चेको छ । दुई रोपनी जग्गामा करेला खेती गरेर बर्खे खर्च चलाउने शुरमा रहेका बलराम सुवेदीले ३० हजार खर्च गरिसकेका थिए । उनीले दुई रोपनी जग्गाबाट दुई लाख आम्दानी गरेर वर्खाको खर्च टार्ने योजना थियो । तर लगानी खेर गएको उनले बताए ।
थाक्रे गाउँपालिकाले वडा नं. ११ मा १० ग्राम दरको १ सउ ५८ पाकेट पाली जातको करेलाको बीउ वितरण गरेको गाउँपालिकाकी कृषि प्राविधिक राममाया राना मगरले बताइन् । रोगका कारण किसानको यसवर्ष करिब २१ लाख लगानी डुबेको छ । करेलासँगै अघिकांश क्षेत्रफलमा लगाईएको घिरौँला पनि रोगका कारण मर्न थालेको छ । फर्मलाई संघीय सरकारको तरकारी ब्लक कार्यक्रम र बागमती प्रदेश सरकारको नमूना फर्म कायक्रमको सहयोग रहेको कृषि ज्ञानकेन्द्रका अधिकृत कमलराज शर्माले बताए ।
कृषि प्राविधिकहरुले तरकारीमा पाउडरीमिल्लु नामक रोगको प्रकोपका कारण यस्तो अवस्था आएको बताएका छन् । अत्याधिक वर्षाका कारण रोगको संक्रमण बढ्ने अनुमान समेत गरेको छ । कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आए पनि बाली बिमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानहरुको गुनासो छ ।
प्रकाशित: ३१ वैशाख २०७७ ०८:५४ बुधबार