समाज

पत्रकारलाई ज्याकेट र पिपिई प्रदान (अपडेट)

प्राप्त सामग्री लिँदै महासंघ अध्यक्ष खड्का । तस्बिरः महेश्वर

उदयपुर- कोरोना भाईरस (कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका पत्रकारलाई बिभिन्न व्यक्ति र संघसंस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई रौतामाई गाउँपालिकाका सल्लाहकार अम्बर रायमाझी, रोटरी क्लव इन्टरनेशनल र पूर्व विद्यार्थीले स्वास्थ्य सामग्री दिएका हुन् ।  

पर्सापछि दोस्रो ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको उदयपुरमा पत्रकारको सुरक्षाका मिन्ति रायमाझीले ५० थान प्रेस ज्याकेट (एप्रोन), सेनिटाईजर, मास्क र ग्लोब दिएको महासंघका अध्यक्ष भरत खड्काले बताए । उनका अनुसार रोटरी क्लबले १५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), ५० थान ग्लोब, ५० थान सेनिटाईजर र मास्क प्रदान गरेको छ ।  

यसअघि गाईघाटकै नमूना स्कुलको ०६२ एसएसली व्याजका पूर्व विद्यार्थीले मास्क, सेनिटाईजर र ग्लोब उपलब्ध गराएको महासंघका उपाध्यक्ष भोटराज राईले बताए । उनका अनुसार त्रियुगा उद्योग बाणिज्य संघका उपाध्यक्ष रमेश रसाईलीले ४० थान सेनिटाईजर र मास्क प्रदान गरेका थिए ।

सुरक्षा सामग्रीविना लकडाउनको ५० औं दिनदेखि लगातार रिपोर्टिङ गर्ने पत्रकारलाई संक्रमणको जोखिमबाट बँचाउन ज्याकेटलगायत सामग्री सहयोग गरेको रायमाझीले बताए । कोरोना प्रभावित जिल्ला भएकाले उदयपुरका पकार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै अग्रमोर्चामा रहेर खट्नुपर्ने अवस्थामा राज्यले कुनै सहयोग नगरेको गुनासो आईरहेको छ । रोटरीका अध्यक्ष उमेश बस्नेतले जनतालाई सुसूचित गर्ने पत्रकारलाई सुरक्षित गर्न सहयोग गरेको बताए ।

देशका बिभिन्न भागमा संक्रमितको संख्या थपिदै गएपछि उदयपुरमा प्रशासनले रिपोर्टिङमा निस्कने पत्रकारलाई अनिवार्य एप्रोन लगाउन सुझाएको छ । सहयोगीबाट प्राप्त सामग्री महासंघले बुधबारै पत्रकारलाई वितरण गरेको सचिव पर्शुराम थापाले बताए । उनका अनुसार एप्रोन नलगाएका पत्रकारलाई प्रहरीले रोक्ने र परिचयपत्र देखाउँदा नजिक आउनुपने हुँदा सामाजिक दूरी कायम नहुने समस्या हुने गरेको छ ।  

समाजलाई सुसूचित गर्ने पत्रकारजगत पहिले आफु सुरक्षित भए मात्र वास्तविक सूचना प्रवाह गर्नसक्ने भएकाले उनीहरुको सुरक्षामा राज्यले पनि चासो दिनुपर्ने सञ्चारकर्मीहरुको माग छ । अग्रमोर्चामा खट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैलाई राज्यबाट मासिक पारिश्रमिक, सवारी साधन, इन्धन, दैनिक भ्रमणभत्तालगायत अतिरिक्त सेवासमेत पाउदै आएका छन् । तर, उनीहरुकै दाँजोमा खट्ने पत्रकारले सञ्चार संस्थाबाट पाउनेबाहेक कुनै सुविधा नपाए पनि समाजप्रतिको उत्तरदायित्व वहन गर्न भने छाडेका छैनन् ।  

दुई साताअघि भुल्के क्षेत्रको अनुगमन गर्न आएका महासंघका महासचिव रमेश विष्टले पत्रकारले सवारी साधनदेखि आधारभूत स्वास्थ्य सामग्रीसम्म आफैले जोहो गरेर खटिरहनु पर्दा राज्यले न्यूनतम सुविधा दिने दायित्वसमेत निर्वाह नगरेको भन्दै दुःखद व्यक्त गरेका थिए । उनीसँगै आएका प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले लोककल्याणकारी विज्ञापनको गत पुसदेखि रोकिएको भुक्तानी तत्काल निकासा गर्ने पहल गरेका थिए । उनीहरुले यसबारे तत्काल सरकारको ध्यानाकर्षण गराउने बताए पनि त्यसको कुनै प्रतिक्रिया र प्रतिफल देखिएको छैन ।  

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०८:३६ बुधबार

कोभिड १९ कोरोनाभाइरस