समाज

क्वारेन्टाइनबाट कोरोना संक्रमित भागेपछि बाँकेकाे नैरनापुरमा सन्त्रास

सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना संक्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा त्रास फैलिएकाे छ। 

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएका हुन्। उनी नेपाल छिरेको हुन सक्ने आशंकाले नरैनापूवासी त्रसित भएका हुन्। स्थानीय बासिन्दालाई सजग बनाई उनको खोजतलास थालि8एको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए।  

नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यका अनुसार १५ दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा बसेका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षण क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो। 

उनका अनुसार संक्रमित तीनमध्ये एक युवक सोमबार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल-भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ। १९, २४ र ३५ वर्षीय नेपाली युवक एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो। 

नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । 

प्रकाशित: ३१ वैशाख २०७७ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App