खोटाङ– भालुको आक्रमणबाट खोटाङमा एक युवा घाइते भएका छन् । स्थानीय धुपीढुंगा वनमा गएका बेला भालुको आक्रमणमा पर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २६ वर्षीय जयकुमार राई घाइते भएका हुन् ।
टाउको, अनुहार, आँखालगायतका स्थानमा चोट लागेका राईलाई थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेलले सोमबार काठमाडौं रेफर गरेको छ । उनलाई आइतबार भालुले आक्रमण गरेको हो । बायाँ आँखामा गहिरो चोट लागेकाले थप उपचारमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए ।
भालुको आक्रमणबाट बर्सेनि स्थानीय घाइते बन्ने गरेका छन् । २०७५ साल चैत २ गते भालुको आक्रमणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी गम्भीर घाइते भएका थिए । स्थानीय कोप्चे सामूदायिक वनको मासाङ्गेमा घाँस काट्न गएका बेला गिरीलाई भालुले आक्रमण गरेको थियो ।
प्रकाशित: ३० वैशाख २०७७ १३:५३ मंगलबार