समाज

आरडिटी पोजिटिभ घरमै सिल (अपडेट)

खोटाङको साकेला गाउँपालिकामा दुई व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) पोजिटिभ देखिएको छ। सोमबार साकेला गाउँपालिका–२ रतन्छामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टका क्रममा दुई जनाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको हो।

दुबईबाट फागुन ११ गते काठमाडौं ओर्लिएर वैशाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र काठमाडौंमै बसिरहेको अवस्थामा रिजर्भ गाडीबाटै गाउँ आएका २३ वर्षीय युवाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले बताए।  

गाउँ आएपछि १४ दिन क्वारेन्टाइन बसेका उनीहरू हप्ता दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर फर्किएका थिए। घर फर्किएका ती दुई जनाको आरडिटी रिपोर्ट पोजिटिभ आएको हो। पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरूका परिवारका सदस्यको पिसिआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठाउने तयारी गरिएको छ। पिसिआरको रिपोर्ट नआएसम्म उनीहरूको घरलाई पूर्ण रूपमा सिल गरिने साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए। ‘पोजिटिभ देखिएका व्यक्तिको घरलाई सिल गर्छौं, हिँडडुल र अरूको सम्पर्कमा जान रोक लगाउँछौं,’ अध्यक्ष खड्काले भने, ‘गाउँ आउनेबित्तिकै उनीहरूलाई क्वारेन्टाइनमा राखिएकाले अरूलाई संक्रमण नभएको हुनसक्छ।’  

आरडिटी रिपोर्ट पोजिटिभ देखिए पनि उनीहरूको स्वास्थ्यमा कुनै समस्या नदेखिएको संलग्न स्वास्थ्यकर्मीको भनाइ छ। २२ जनाको परीक्षण गर्दा दुई जनामा आरडिटी रिपोर्ट पोजिटिभ देखिएको हो। काठमाडौंमा उनीहरू क–कसको संसर्गमा पुगेका थिए भन्ने विवरण खुलेको छैन।  

उनीहरूसँगै दिप्रुङ चुइचुम्मा गाउँपालिकाका पनि तीन जना घर आएका थिए। उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएकाले पुनः खोजी सुरु गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। दुई जनाको आरडिटी रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा त्रास फैलिएको छ।  

प्रकाशित: ३० वैशाख २०७७ ०४:१२ मंगलबार

काेराेना सङ्कट