समाज

भीरबाट लडेर एक जनाको ज्यान गयो (अपडेट)

रसुवा- रसुवामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, का ३५ वर्षीय मिलन नगरकोटी (तामाङ) रहेका छन् । घरबाट दाउरा खोज्न भनेर निस्केका तामाङ आइतबार साँझसम्म घरमा नआएपछि उनको आफन्तहरूले खोजी कार्य गरेका थिए ।

खोज्ने क्रममा पलङखाङ भीरमा लडेको अवस्थामा उनको शव फेला परेको थियो । शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात हाकु प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी टोली गएर प्रारम्भिक अनुसन्धानको काम सकाएर शव पोष्टमार्टमको लागि रसुवामा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पोष्टमार्टम गराएर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३० वैशाख २०७७ ०२:३७ मंगलबार

विविध