समाज

लकडाउन छिचोल्दै मलबीउ जोहो

कैलाली – बजारको कृषि सहकारीमा मल र धानको बीउ आएको खबर पाउनेबित्तिकै गौरीगंगा–७, मट्कौनाका किसान रणबहादुर बम आत्तिए। समयमै लाइन नलागे मल र बीउ सकिने भएकाले उनी बर्खे खेतीको जोहोका लागि आत्तिएका हुन्। फेरि, सरकारले गरेको लकडाउनको पालना गर्दै आएका बमलाई प्रहरीको आँखा छल्दै बजार पुग्नु कम्ता डर छैन। 

‘जे होला होला भनेर मोटरसाइकल निकाले गर हुइँकिएँ गाउँको बाटो मसुरिया बजार,’ उनले भने, ‘संयोगले बाटोमा प्रहरी भेटिएनन्, नत्र मोटरसाइकलको साँचो थुतेर लैजान्थे।’ मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्थामा हत्तपत्त छिरे र पर्ची बनाई मल र बीउ बोकेर फर्किए। उनीमात्रै हैनन्, अहिले ग्रामीण क्षेत्रका किसानले समयमै मल र बीउको जोहो गर्न लकडाउन छिचोल्दै दगुर्नु परेको छ। एकातिर लकडाउन पालना गर्नुपर्ने, अर्कोतिर समयमै मल र बीउ नल्याए बर्खेबाली लगाउन नपाइने भयले किसान यतिबेला चिन्तित छन्। 

‘लकडाउन उल्लंघन गरे प्रहरीले समात्छ, नजाउँ बर्खे बालीका लागि तारतम्य गर्नै भ्याउँदिन,’ अर्का किसान खुसीराम चौधरीले भने, ‘त्यही भएर म पनि लकडाउन छिचोल्दै खेतैखेत साइकल गुडाउँदै बजार आइपुगें।’ बजारमा प्रहरीले देखेपछि गाउँबाट किन आएको भन्दै सताउने गरेका कारण लुकिछिपी सहकारीसम्म पुगेर मल र बीउको जोहो गरी फर्केको उनले जानकारी दिए। ‘मल र बीउ त किनें अब सिँचाइका लागि पम्पसेट चलाउन डिजेल किन्ने चिन्ता थपिएको छ।’ यसपालिको बर्खे खेती पछाडि पर्ने सम्भावना उनले देखेका छन्। जसोतसो मल र बीउ पाए पनि इन्धनका लागि टाढा जानुपर्ने बाध्यता रहेकाले समयमै बीउ राख्न नपाइने हो कि भन्ने चिन्ता थपिएको उनले बताए। 

इन्धनका लागि किसानलाई समस्या छ। मल चार सय पाँचजना र धानको बीउ एक सय ७३ जना मसुरिया क्षेत्रका किसानलाई उपलब्ध गराएको कृषक बहुउद्देश्यीय सहकारीका व्यवस्थापक लालबहादुर खड्काले जानकारी दिए। मलखाद र बीउ बिजन लैजान किसानलाई सहज होस् भनेर कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए।

प्रकाशित: २९ वैशाख २०७७ ०३:३४ सोमबार

किसान मलबीउ