समाज

डडेल्धुरामा कांग्रेसको आपतकालिन भोजन चुलो

समस्यामा परेकालाई खाना खुवाउन सञ्चालन गरिएको आपतकालिन भोजन चुलो ।

डडेल्धुरा- लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन नेपाली कांग्रेस डडेल्धुराले आपतकालिन भोजन चुलो सञ्चालन गरेको छ । भौतिक पूर्वाधार, कृषि क्षेत्र लगायतका काम सरकारले सुचारु गर्ने निर्णय गरेपछि जिल्ला सदरमुकाम पुग्नेहरुलाई खान र बस्न समस्या परेको भन्दै नेपाली कांग्रेस डडेल्धुराले खाना खुवाउन आपतकालिन भोजन चुलो सञ्चालन गरेको हो । जिल्ला सदरमुकाम बागबजारमा रहेको पार्टी कार्यालय किसुन जी भवनमा कांग्रेसले शनिबारदेखि एनडि प्रकाश चटौत भोजन चुलो सञ्चालन गरेको छ ।

लकडाउनका कारण होटेल लगायत बजार सबै बन्द भएकाले स्वास्थ्य उपचार तथा अन्य महत्वपुर्ण कामले जिल्ला सदरमुकाम पुग्ने तथा अलपत्र परेकाहरुलाई सरसफाई र सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले खाना खुवाउन आपतकालिन भोेजन चुलो सञ्चालन गरेको नेपाली कांग्रेस जिल्ला पार्टि सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए ।

स्थानीयहरुको सहयोगमा भोजन गराउन चुलो सञ्चालन गरेको उनले बताए । राणाकालिन अवस्थामा नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईराला संग डडेल्धुराका एनडि प्रकाश चटौत जनताको हितका पक्षमा लडेकाले उनकै नामबाट आपतकालिन भोजन चुलो नामाकरण गरी समस्यामा परेकालाई खाना खुवाउने र आवासको व्यवस्था मिलाएको उनले बताए ।

होटेल लगायत व्यापार व्यवसाय बन्द छन् । उनले भने, महत्वपुर्ण कामले यँहा पुग्नेहरुलाई खान बस्न समस्या छ । कोरोना भाईरसको यो बिसम परिस्थितीमा समस्यामा परेकाहरुलाई सहयोग गर्न पार्टी कार्यालयमा भोजन चुलो सञ्चालन गरिएको हो । यो चुलो लकडाउनसम्मै सञ्चालनमा रहने उनले बताए ।

सेवादल समूह गठन गरि आपतकालिन चुलो सञ्चालन गरिएको उनको भनाई छ । खुल्ला सदस्य रहने गरि कांग्रेस नेता टंक क्षेत्रीको संयोजकमा सेवा दल गठन गरिएको छ । सेवा दलले समस्यामा परेकाहरुलाई दैनिक दुई छाक खानाको व्यवस्था गर्ने छ ।

बिहान १०–२ बजे र बेलुकी ६–८ बजेसम्म खाना खुवाईने सेवा दल संयोजक क्षेत्रीले बताए । राईनो होटेलले खाना पकाउने दुई जना भान्से सहयोग गरेको छ । उनले भने, उग्रतारा मिनरल वाटर प्रालीले पानीको व्यवस्था गरेको छ भने शनिबार चामल, दाल, तरकारी पार्टी सभापती मल्लले उपलब्ध गराएका थिए । यस्तै निर्माण व्यवसायी संघले भाडाकुडा, मित्र सप्लायर्सले ग्यास उपलब्ध गराएको संयोजक क्षेत्रीले बताए ।

लकडाउनका समयमा समस्यामा परेकालाई आवसको व्यवस्था प्रकाश साउदले गरेका छन् । उद्योग वाणिज्य संघको भवनमा रहेको सञ्चालनमा नआएको अपि अस्पतालमा अवासको व्यवस्था गरिएको छ ।

 

प्रकाशित: २८ वैशाख २०७७ ०७:५० आइतबार

डडेल्धुरा आपतकालिन_भोजन_चुलो