समाज

उपत्यका र सदरमुकामका विद्यार्थी तथा मजदुरलाई लिमचुङबुङको राहत

गाईघाटका लिमचुङबुङबासीलाई राहत वितरण गरिदै । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरको लिमचुङबुङ गाउँपालिकाले सदरमुकाम गाईघाट र काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थी तथा मजदुर वर्गलाई राहत दिएको छ । झण्डै दुई महिनादेखि लकडाउन हुँदा अप्ठेरोमा परेका विद्यार्थी तथा मजदुरलाई भोको बस्न नपरोस् भन्ने उदेश्यले चामल, दाल र नुन–तेलको राहत प्याकेज गाउँपालिकाले वितरण गरेको जनाएको छ ।  

गाईघाटमा रहेका १ सय ७१ घरधुरी परिवारका ४ सय ६९ जना विद्यार्थी र मजदुरलाई शुक्रबारदेखि खाद्यान्न वितरण भईरहेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए । उनका अनुसार ३ जनासम्मको परिवारलाई २५ किलो र सो भन्दा धेरै जन भएको परिवारलाई ३० किलो चामल, दाल, नुन र तेल वितरण गरिएको छ । जस अनुसार ४ हजार ४ सय ९० किलो चामल, ८ सय ५५ किलो दाल, २ सय १४ किलो नुन र त्यत्ति नै परिमाण लिटर तेल वितरण गरिएको उनले बताए ।

काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थी र मजदुर ३ सय ९७ घरधुरी परिवारका १ हजार ६० जना पालिकाबासीलाई राहत दिइएको छ । उनीहरुलाई ९ हजार ८ सय किलो चामल, १ हजार ९ सय ८० किलो दाल, ३ सय ९६ किलो नुन र ३ सय ९६ लिटर खानेतेल वितरण गरिएको गाउँपालिकाका प्रेस सल्लाहकार दिनेश राईले बताए । उनका अनुसार उपत्यकामा शनिबार नै राहत वितरण गरिसकिएको छ भने गाईघाटमा आईतबारभित्र वितरण भईसक्नेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले ५ वटै वडाबाट उच्च शिक्षा अध्ययन गर्न उपत्यका र सदरमुकाममा बसेका विद्यार्थी र ज्याला मजदुरी गर्नेहरु लामो लकडाउनले घर फर्कन नपाउँदा भोकभोकै बस्नु परेको गुनासो आएकाले त्यहीँ राहत दिने व्यवस्था मिलाइएको बताए । उनले राहत वितरण गर्न दुवै ठाउँमा गठित ‘लिमचुङबुङ–काठमाडौं-गाईघाट सरोकार समन्वय समिति’मार्फत विद्यार्थी र मजदुरको लगत लिएर खाद्यान्न  वितरण गरिएको हो ।

लेखा अधिकृत ताराकिरण राईका अनुसार कोरोना भाईरस (कोभिड–१९) बाट बँच्न २५ लाख २४ हजारको सुरुवाती  ‘प्रकोप व्यवस्थापन कोष’ गाउँपालिकाले स्थापना गरेको छ । जसमा जनप्रतिनिधिले १ महिनाको सेवासुविधा तथा अधिकृतस्तरका कर्मचारी र शिक्षकले ५ दिन तथा नासुभन्दा तल्लोस्तरका कर्मचारी र आधारभूततहका शिक्षकको ३ दिनको तलवभत्ता कटाएर जम्मा गरिएको छ ।

सोही कोषबाट गाउँपालिकाले राहत वितरण थालेको हो । पालिकाका गरिव तथा विपन्न वर्गलाई पनि खाद्यान्न वितरण भईरहेको लेखा अधिकृत राईले बताएका छन् ।

 

 

प्रकाशित: २८ वैशाख २०७७ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App