समाज

लकडाउनकै बीच सडक स्तरोन्नतीमा जुटे युवा

कालिका मावि–तापखोला सडक स्तरोन्नतीमा श्रमदान गर्न जुटेका खार्मीका युवा । तस्बिर : नागरिक

खोटाङ– लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा सडक स्तरोन्नतीमा जुटेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत विनियोजन गरिएको १५ लाख बजेटबाट हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि–तापखोला (७ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम थालिएको हो ।

८ वर्षअघि खोलिएको कालिका माविदेखि तापखोलासम्मको ट्र्याकलाई ग्रेड मिलाएर कम्तीमा ५ मिटर चौडा बनाउनेगरी स्तरोन्नतीको काम थालिएको हो । प्रतिनिधिसभा सांसद बिशाल भट्टराईमार्फत बजेट विनियोजन भएपछि बार्‍हैमास सञ्चालन हुनेगरी खार्मी (तुर्खा)का युवा श्रमदान गरेर सडक स्तरोन्नतीमा जुटेको स्थानीय समाजसेवी ईखबहादुर राईले बताए ।

दिक्तेलबाट केपीलासगढी गाउँपालिका पुग्ने छोटो दुरीको सडक खण्डमा पर्ने कालिका मावि–तापखोला सडक बैसाख २१ गतेदेखि स्तरोन्नतीको काम थालिएको हो । स्काभेटरको अगाडि–पछाडि सामाजिक दुरी कायम गरेर दैनिक १५ देखि २० युवाले सडक स्तरोन्नतीका लागि श्रमदान गरिरहेका छन् । विनियोजित बजेट सडक स्तरोन्नतीको काममा अपुग हुने भएकाले श्रमदान जुटाइएको हो ।

कोरोना प्रकोपका कारण लकडाउन अगावै गाउँ भित्रिएका अधिकांश युवा सामाजिक दुरी कायम गरेर सडक स्तरोन्नतीमा खटिएका छन् । स्टिमेटभन्दा गुणस्तरयुक्त तरिकाले सडक स्तरोन्नती गर्ने लक्ष्यकासाथ श्रमदान सुरु गरिएको कालिका मावि–तापखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमन्त राईले बताए ।

दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक साविकको सदरमुकाम दिक्तेलबाट केपीलासगढी गाउँपालिका पुग्ने सवैभन्दा छोटो दुरीको सडक भए पनि हालसम्म वेवास्तामा पर्दै आएको छ । सो सडक खण्डलाई बजेट प्राप्त नहुँदा हरेक वर्ष तुर्खाका युवाले श्रमदान जुटाएर मर्मत गर्दै आएका छन् । ‘प्राप्त बजेटले मात्र सडक स्तरोन्नतीको काम सम्पन्न हुने अवस्था छैन,’ अध्यक्ष राईले भने, ‘त्यही भएर कसैलाई श्रमदान, कसैलाई आर्थिक सहयोग मागेर काम गरिरहेका छौँ ।’ कोरोना भित्रिने त्रासमा खार्मीका युवाले अन्यलाई भने वडा प्रवेशमा रोक लगाएको छ ।

 

प्रकाशित: २७ वैशाख २०७७ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App