समाज

हत्याले निम्त्याएको अर्को हत्या

खोटाङ– खोटाङमा कान्छी श्रीमती तर्फका सालोले चिर्पट प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार साँझ मृत्यु भएको हो ।

कान्छी श्रीमती तर्फका सालोको चिर्पट प्रहारबाट पृतीलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । घटनामा संलग्न मिलन र उनका २० वर्षीय भाई जीवन राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

२०६४ साल कात्तिक ३ गते आफ्नै सासु र कान्छी श्रीमती हत्या गरेका पृतीलाल ८ वर्ष ६ महिना १३ दिनको कैंद भुक्तान गरेर २०७३ साल जेठ १५ गते जिल्ला कारागार शाखा दिक्तेलबाट छुटेका थिए । १२ वर्षअघि हत्या गरिएका तिनै कान्छी श्रीमतीका भाईले पुनः पृतीलालको कतव्र्यगरी हत्या गरेको प्रहरीले जनाएको छ । जेलबाट छुटेपछि सुनसरीमा बस्दैआएका पृतीलाल आफन्तको बिहेका लागि लकडाउन अगाडि गाउँमा आएका थिए ।

विहेमा आएको अवस्थामा लकडाउन लागू भएपछि गाउँमै अड्किएर बसिरहेको अवस्थामा कान्छी श्रीमतीतर्फका सालोको आक्रमणबाट उनको मृत्यु भएको केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । तत्कालको रिसइवि नदेखिए पनि एक दशकअघि आफ्नो आमा र दिदिको हत्या गरेको बदलामा सालोले भिनाजुमाथि आक्रमण गरेको अनुमान गरिएको छ । घट्नाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पृतीलाल दाजुको घर र उनका कान्छी श्रीमतीतर्फका सालोको घर एउटै टोलमा पर्छ । पृतीलाल दाजुको घर गएर फर्कदै गरेको अवस्थामा उनी सालोको आक्रमणमा परेको खार्ताम्छाका वडाध्यक्ष बलीराज राईले बताए । आमा र दिदिको हत्या गरेका पृतीलाल आफ्नो टोलमा आएको खबर पाएका मिलनले सरासर गएर आक्रमण गरेको स्थानीयको भनाई छ ।

भरुवा बन्दुकसहित युवक पक्राउ
यसैबीच, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेका २५ वर्षीय नविन राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । आफ्नै घर नजिकै बारीमा भरुवा बन्दुक बोकेर बसिरहेको अवस्थामा राईलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०७७ १५:०३ शुक्रबार

हत्या खोटाङ चिर्पट_प्रहार