समाज

घरघरमा भूमिपूजा गरी उभौली मनाउँदै किराती समुदाय

गतवर्ष उभौलीमा परम्परागत सामग्री प्रदर्शन गर्दै साकेला टोली । फाईन तस्बिर : महेश्वर

उदयपुर- प्रकृति पुजक किराती समुदायले यो वर्ष (यलिहाङ संवत ५०८०)को साकेला उभौली घर घरमा भूमिपूजा गरेर मनाउँदैछ । हरेकवर्ष वैशाख पूर्णेदेखि २ महिनासम्म सार्वजनिक ठाउँमा भेला भएर सामूहिक भूमिपूजा गर्दै गोलाकार घेरामा ढोल, भ्याम्टा बजाउँदै सिली नाचसहित सद्भाव आदान–प्रदान गर्दै मनाइने उभौली यसवर्ष कोरोना भाईरस (कोभिड–१९) बाट बच्न घरघरमा पूजा गरी एक्लाएक्लै मनाइएको हो ।

किरात राई यायोक्खाले संक्रमणबाट बँच्न सामुहिक भेला नगर्न अनुरोध गरे अनुसार यो वर्ष घरघरमै सीमित भएर उभौली मनाउन सबैलाई आग्रह गरेको छ । देशभर कोरोना कहर चलिरहेको र उदयपुरमा सबभन्दा बढी संक्रमित भेटिएकाले सुरक्षित हुँदै पर्व मनाउन घरघरमै उभौली मनाइएको यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईले बताए । नजिकमा पूजास्थल भएकाहरु सीमित घरधुरीले भौतिक दूरी कायम गर्दै भूमिपूजा गरेका छन् भने अधिकांशले घर नजिक एक्लाएक्लै पितृस्थल प्रतिस्थापन गरी भूमिपूजा गरेको उनले बताए ।

किराती समुदायमा वैशाखमा बर्खे बाली लाउनुअघि बालीनाली राम्रो होस्, उत्पादन बढोस् भन्ने कामनाका साथ पितृपुर्खा र प्रकृतिसँग प्रार्थना गर्दै उभौली मनाउने प्रचलन छ । त्यस्तै बाली पाकेपछि थन्क्याउनुअघि मंसिरमा पुनः पितृपुर्खा र प्रकृतिलाई चढाउन त्यस्तै पूजा गर्दै उधौली मनाउने परम्परा छ । तुलनात्मक रुपमा उधौंलीभन्दा उभौली भव्य र व्यवस्थित रुपमा मनाइन्छ । गर्मी सुरुको मौसम हुने हुँदा सितलको खोजी गदै चराचुरुङ्गी (कराङकुरुङ) उच्च भूभागतर्फ जाने संकेतले वैशाखको साकेलालाई उभौली र जाडो सुरु हुने मौसममा न्यानो खोज्दै तराई र बेंसी झर्ने हुँदा मंसिरको साकेलालाई उधौली भनिएको हो ।

उभौली यो समुदायको वर्षकै ठूलो चाड हो । दुवै साकेलामा विजुवाले मुन्दुम फलाक्दै कोदाको जाँड, रक्सी चढाउँदै रातो भाले र अण्डाको बली दिएर भूमिपूजा गर्ने परम्परा रहेको किराती अगुवा जीतमान राई बताउँछन् । कोरोनाले सामूहिक भूमिपूजा रोकिएपछि यो वर्ष गाउँगाउँमा ढोल भ्याम्टाको आवाजसँगै सामूहिक सिली नाचको रौनक कतै सुन्न/देख्न नपाइएको बृद्ध राईले बताए ‘कोरोनाले सबै सुनसान छ, यो वर्ष उभौली नै आएनजस्तो लाग्यो ।’

सामूहिक भेला नगरिने भएपछि उदयपुरमा वर्षेनी आयोजना गरिदै आएको नगद पुरस्कार र ट्रफिसहितको ‘गीता राई स्मृति साकेला सिली प्रतियोगिता’, ‘लालसेर राई स्मृति कोष’ र ‘प्रेमिला स्मयति पुरस्कार’ प्रतियोगिताहरु सबै स्थगित हुन पुगेको यायोक्खाका त्रियुगा प्राक अध्यक्ष प्रकाश राईले बताए ।

आयोख्खाका केन्द्रीय उपाध्यक्ष गेन राईले कोरोनाका कारण यो वर्ष काठमाडौं उपत्यकालगायत कतै पनि औपचारिक कार्यक्रम नगरिएको बताए । उनका अनुसार किराती बाहुल्यक्षेत्र पूर्वीभेगका उदयपुर, खोटाङ, सिन्धुली, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, धनकुटा, पाँचथर, तेरथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापा तथा काठमाडौं उपत्यकामा पनि यो वर्ष कोरोनाका कारण उभौली कतै सामूहिक कार्यक्रम गरिएन ।

 

प्रकाशित: २६ वैशाख २०७७ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App