समाज

समुदायले नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर्न थाले

बेनीमा बिहीबार गरिएको सरसफाई कार्यक्रम। तस्वीर नागरिक

म्याग्दी – बेनी नगरपालिका भित्र वैशाख महिनामा मात्रै चारजनामा डेंगु पेजेटिभ देखिएपछि डेंगु बाट जोगिन बेनी बजारमा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरू भएको छ। हरेक मङ्गलबार तथा शनिबार डेंगु रोग सार्ने एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको खोज्ने तथा नष्ट गर्ने समुदायले नै सक्रिय भएका छन्।

बजार क्षेत्रमै डेगुको संक्रमित भेटिएपछि बेनी नगरपालिकाले बिहिबारदेखि टोल–टोलमा कार्ययोजना बनाई सामुहिक सरसफाई अभियान सुरू गरेको मेयर हरिकुमार श्रेष्ठले बताए। ‘दुई दिन सामुहिक अभियान सञ्चालन हुन्छ,‘सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएका छौ’ मेयर श्रेष्ठले भने। उनका अनुसार बेनपा–७ र ८ नं वडामा २४ वटा समुह बनाएर परिचालन गरिएको छ भने धार्मिकस्थल गलेश्वरमा समेत थप एक समुहले घर, कार्यालय, होटल, संघसंस्था वरपरको स्थानमा लामखुट्टे खोज्ने र नष्ट गर्ने, टोल भित्रका सार्वजनिक स्थानहरुको सरसफाई गर्न संघसंस्थाका व्यवस्थापमा सक्रिय बताए। 

उनले ग्यारेजमा र कवाडीमा जथाभावी रूपमा खुला ठाउँमा फालिएका टायर, फोहोर, पानीका खाली बोतल, खाल्डाखुल्डी, ओसिलो ठाउँमा लामखुट्टेको प्रजननका निम्ति अनुकूल भएकाले उक्त क्षेत्रमा पहिलो प्राथमिकता दिएर समुदायलाई नै परिचालन गरिएको बताए। बिहिबार बजार क्षेत्रमा लामखुट्टेको बासस्थान खोज्ने र नियमित सरसफाई गर्ने स्थानको पहिचान गर्ने क्रममा खुल्ला ठाउँमै पानीले भरिएका बोतल, सडकमा पानी जम्मा भएको, ब्यक्तिगत तथा सरकारी कार्यालयको निवास बाहिर फोहोर, घरको गमला र प्रयोगविहिन भाँडाकुँडाहरुमा समेत लामखुट्टेको अण्डा भेटिएको थियो। ‘स्वास्थ्यको एक्लै डेंगु नियन्त्रण गर्न सक्दैन,‘समुदायको सक्रियताले डेंगु संक्रमणबाट जोगिन सकिन्छ’प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने। 

उनका अनुसार पानी जमेको ठाउँ डेंगुको जोखिम भएको बताए। उनले पानी भएको ठाउँ सुख्ला हुने बेलासम्म लामखुट्टेको अण्डा जिवित हुन्छ, पानीमै बच्च काढ्ने भएकाले सरसफाई अभियान पहिलो आवश्यकता रहेको बताए। जिल्लाका सबै  ६ वटै स्थानीय तहमा डेंगु नियन्त्रणसम्बन्धी वडास्तरीय कार्ययोजना बनाइएको छ। ‘घर, परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेंगुमुक्त म्याग्दी जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारा तय गरी कार्ययोजना निर्माण गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए। रोगको निदान, उपचार, बिरामीका लागि झुलसहित डेंगुकर्नर स्थापना, सर्भिलेन्स लगायतका योजना बनाउने बताए । कोभिड–१९ विरुद्ध जारी लकडाउनको समयमा ग्रामीण भेगमा डेंगु भेटिएपछि जिल्लामा डेंगुको जोखिम बढेको उनले बताए । म्याग्दीमा बेनी नगरपालिका ४, मगला २ र मालिका  गाउँपालिकामा १ गरी बैशाख महिना यता ७ जनामा डेंगु देखिएको छ। गतबर्ष १२ जनामा डेंगु देखिएको थियो। 


 

प्रकाशित: २५ वैशाख २०७७ ११:५२ बिहीबार

डेंगु लामखुट्टे बासस्थान