समाज

गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण प्याकेज

गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका साथै किशोरी र बालबालिकालाई पोषण खानेकुरा वितरण गरिँदै ।

सुर्खेत- फेसबुकमार्फत सहयोग संकलन गरेर युवाहरुले गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका साथै किशोरी र बालबालिकालाई पोषण खानेकुरा सहयोग गरेका छन् । भोर क्याम्पियनमार्फत संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–१ का १०१ जना महिला, किशोरी र बालबालिकाहरुलाई अण्डा, हरियो तरकारी, तोरीको तेल, गेडागुडी, दाल, पोषणयुक्त चामललगायत सहयोग गरिएको हो ।

३८ जना स्तनपान गराउने महिला, १८ जना गर्भवती, आठ सुत्केरी, १२ किशोरी र २८ बालबालिकालाई पोषणयुक्त खाने कुरा उपलब्ध गराइएको अभियानका कर्णाली प्रदेश संयोजक तिलक पौडेलले जानकारी दिए ।

‘वडाको सिफारिसका आधारमा जोखिममा रहेका महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा उपलब्ध गराएका हौं,’ पौडेलले भने, ‘पहिलो चरणमा सातै प्रदेशका एक–एक वडामा यो कार्यक्रम लागू गरेका छौं ।’ कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) का कारण विपन्न परिवारका स्तनपान गराउने, गर्भवती र सुत्केरी महिलाका साथै किशोरी र कुपोषण भएका बालबालिकाहरुले पोषणयुक्त खाना पाइरहेका छैनन् ।

स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलालाई पोलिस नगरेको चामल, अण्डा, गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल, हरियो तरकारी तथा सागपात, फलफुल, सर्वोत्तम पिठो, ज्वानोलगायतका खाद्य सामाग्री वितरण गरिएको हो । यस्तै किशोरीलाई गेडागुडी, अण्डा, केरा र तरकारी उपलब्ध गराइएको थियो । भने बालबालिकाहरुलाई सर्वोत्तम पिठो, अण्डा, केरा, तरकारीलगायत दिइएको थियो ।

अभियन्ता दिनेश खत्रीले जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, स्थानीय क्लव र युवाहरुको टोली परिचालन गरेर वास्तविक आवश्यकता रहेका व्यक्तिहरुको छनोट गरिएको बताए । ‘बन्दाबन्दीका कारण पौष्टिक आहारको कमिले निम्त्याउने समस्यालाई कम गर्नका लागि विशेष सप्लिमेन्ट खाद्य सामाग्री वितरण गरिएको हो,’ उनले भने, ‘यसलाई अझै विस्तार गर्ने सोचमा छौं ।’

वडाध्यक्ष गंगाराम सुनारले अति विपन्न परिवारलाई पोषण विशेष सप्लिमेन्ट प्याकेज वितरण गरिएको बताए । उनले वास्तविक आवश्यकतामा रहेका गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमा, पाँच वर्षमुनिका बालबालिका र किशोरी गरी एक सय भन्दा बढीलाई खाद्य सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा बाल रोग विशेषज्ञ डा. नवराज केसीले पोषणयुक्त खानेकुराको सही मिश्रणले मात्रै राम्रो नतिजा दिने बताए । उनले बालबालिका तथा गर्भवती महिलालाई खानेकुरा दैनिक रुपमा मिलाएर खाने तरिकाका बारेमासमेत जानकारी दिए ।


 

प्रकाशित: २४ वैशाख २०७७ ०५:५० बुधबार

गर्भवती पोषण_प्याकेज