समाज

लुकेर भारत पस्न खोजेका १ सय १० भारतीय फिर्ता

दाङ, - लुकीछिपी भारत जान खोजेका १ सय १० जना भारतीय नागरिकलाई मंगलबार प्रहरीले देउखुरी क्षेत्रमा रोकेको छ । दाङ बिजौरीस्थित एक इँटा उद्योगमा कार्यरत उनीहरु जंगलको बाटो हुँदै भारत पस्न खोजेका थिए ।

उनीहरुलाई लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डीस्थित जंगलबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । उनीहरु बिजौरीबाट सोमबार जंगलको बाटा हुँदै जलकुण्डीसम्म पुगेका थिए । ‘बिजौरीस्थित इँटा उद्योगमा कार्यरत १ सय १० जना भारतीय मजदुरलाई नियन्त्रणमा लिइएको हो,’ इलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख, प्रहरी निरीक्षक खिमवहादुर घर्तीले भने, ‘जंगलको बाटो हुँदै उनीहरु भारत पस्न खोजेका रहेछन् ।’ घर्तीका अनुसार  खान बस्नको समस्या भएपछि भारतस्थित घर जान थालेको उनीहरुले बताएका छन् । 

‘उद्योग बन्द रहेकाले खानको समस्या भएको भन्दै घर जान हिँडेको उनीहरुले बताएका छन्,’ प्रहरी निरीक्षक घर्तीले भने, ‘१ सय १० जनाको समूहमा महिला पुरुषसहित साना बालबालिकासमेत छन् ।’ जलकुण्डीका स्थानीयले उनीहरुलाई जंगलमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले रोकेका उनीहरुलाई इँटा उद्योगमै फिर्ता पठाइएको छ । उद्योगका मालिकसँग कुराकानी गरेर खाद्यान्नको व्यवस्थापन गरिदिने सहमतिमा फिर्ता पठाइएको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए ।

 

प्रकाशित: २४ वैशाख २०७७ ०४:१७ बुधबार

भारतीय_नागरिक काेराेना_भाइरस