समाज

अन्यौलमा दुर्गमको पढाइ

रोल्पा - कोरोना त्राससँगै गरिएको लकडाउनले विद्यार्थीको पठनपाठनमा असर पारेको भन्दै विभिन्न विज्ञले अनलाइनन कक्षाका लागि सिफारिस गरेका छन्। तर अनलाइनको प्रयोगबारे अनविज्ञ ग्रामीण र दुर्गम क्षेत्रका वालबबालिकाबारे भने सरोकारवालाको कुनै चासो देखिएको छैन। सामान्य फोन मात्र गर्न रूखमा चढेर नेटवर्क खोज्नुपर्ने दुर्गमका हजारौं विद्यार्थीलाई अनलाइन कक्षाले सम्बोधन गर्दैन भन्ने जानकारी पाएकाले पनि त्यतातिर ध्यान दिएको पाइएको छ्रैन।

निजी विद्यालयमा जबरजस्ती शुल्क असुल्न तथा सामुदायिक विद्यालयका शिक्षकलाई नपाढाएरै तलब बुझ्न लाज लाग्ने परिस्थिति ढाकछोप गर्न अनलाइन कक्षाको मात्र विषय छलफलमा ल्याइएको कतिपयको आरोप छ।‘अनलाइन कक्षा मात्र विकल्प होइन तर यो पनि हो।’ शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘रेडियो, रेकर्ड, टिभी, टेलिफोन, सामाजिक सञ्जाल यी सबैको अधिकतम प्रयोग गर्न सकिन्छ।’दुर्गममा प्रविधिको कत्ति पनि सुविधा नभएकालाई शिक्षकले घरमै पुगेर सामाजिक दूरी कायम गर्दै पनि पढाउन सक्ने बताउँदै डा. कोइराला भन्छन्, ‘सबै विधि एकैपटक सुरु गर्नुपर्छ। सहरमात्र केन्द्रित गर्दा अन्याय हुन्छ।

सबै विधि एकैसाथ अगाडि बढायो भने न्याय हुन्छ।’ नागरिकसँग कुरा गर्दै उनले भने, ‘विपन्न र प्रविधिको पहुँच नभएकाले पनि शिक्षा पाउनुपर्छ र दिने दायीत्व सकारको हो।’ उनका अनुसार अब प्रयोग गर्नै पर्ने शैक्षिक विधिहरु प्रभावकारी हुन्छन् हुँदैनन्भन्दा पनि हामीले प्रभाकारी बनाउने हो।‘परिस्थितिसँग बदल्न जानियो भने सफल भइन्छ। जोसँग जे छ त्यही गराै‌‌। परिवेश अनुसार चलौं,’ कोइराला भन्छन्, ‘स्थानीय सरकारले केन्द्र र प्रदेशको मुख नताकेर आफ्नो शैलीमा काम सुरु गर्दा हुन्छ तर सबै विधि एकैपटक लैजानुपर्छ।’

प्रकाशित: २४ वैशाख २०७७ ०३:२७ बुधबार

कोरोना पठनपाठन अनलाइन_कक्षा