समाज

‘मदन भण्डारी लोकमार्ग’को काम सुचारु

सदरमुकाम गाईघाटस्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा थन्किएका सामग्री र उपकरण । तस्बिरः महेश्वर

उदयपुर- कोरोना भाइरसबाट बँच्न जारी लकडाउनले अवरुद्ध भएका बिभिन्न विकास निर्माणका योजनाहरु उदयपुरमा सुचारु हुने भएका छन् । जिल्लास्तरीय सर्वदलीय सर्वपक्षीय बैठकले लकडाउनले रोकिएका राष्ट्रिय गौरवको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ लगायत संभव भएसम्म सबै योजनाका काम सुचारु गर्ने निर्णय गरेको हो ।    

जस अनुसार मदन भण्डारी लोकमार्गको काम मंगलबारदेखि सुचारु भएको छ भने अन्य योजनालाई पनि निरन्तरता दिने तयारी भईरहेको छ । संक्रमणबाट जोगाउँन मजदुरहरुलाई निश्चित भौतिक दूरी कायम गरेर काममा लगाइने लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ । दसैं–तिहारअघि नै सदरमुकामदेखि पूर्व बसाहासम्म र पश्चिमतर्फ उदयपुरगढीको नेपालटारसम्म कालोपत्रे भईसकेको लोकमार्ग गाईघाट बजारमा धमाधम काम भईरहेका बेला लकडाउन सुरु भएपछि रोकिएको थियो ।

पूर्वतर्फ गाईघाट–बसाहा खण्डमा बन्दै गरेका आधादर्जन बढी पुल एप्रोच (पुलको दुवैतिर ५०–५० मिटर) बाहेकको सडकमा कालोपत्रे भईसकेको छ । त्यस्तै पश्चिमतर्फ गाईघाट–कटारी खण्डको नेपालटारसम्म कालोपत्रे सकिएको छ भने नेपालटार–कटारीबीचको दनुवारबेँसी र बकपति खण्डबाहेकमा पनि कालोपत्रे सकिएको लोकमार्ग कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलले बताए । उनका अनुसार गाईघाट–सिन्धुली खण्डको भिमानसम्म १ सय ४ किलोमिटर दूरीमध्ये ८५ किमि सडक कालोपत्रे भईसकेको छ ।

भुजेलका अनुसार डेढमहिना लकडाउनले योजनाको काम अवरोधले अहिलेसम्म सकिने काम हुन पाएन । लकडाउन नभएको भए यतिखेरसम्म बन्दै गरेका पुलहरु बनिसक्ने र गाईघाट बजारमा कालोपत्रेको काम पनि सकिने अवस्था आईसक्थ्यो । ‘कोरोना समस्या नआएको भए अहिले गाईघाट कालोपत्रे गरिसक्थ्यौं’ डिई भुजेलले भने ‘पश्चिमपटि पनि कटारीसम्म काम झण्डै सकिन्थ्यो ।’ डेढमहिनायता काम गर्न नपाउँदा सरकार, ठेकेदार कम्पनी र जनता सबैलाई मार्का परेको उनले बताए ।

सर्वदलीय बैठकको निर्णयपछि लोकमार्गको काम सुचारु भएको भन्दै उनले पूर्व–पश्चिम दुवैतर्फ बन्दै गरेका पुल र कालोपत्रे कामलाई तिब्रता दिइने उनले बताए । गाईघाट बजारको काम गर्ने बर्दियाका मजदुरहरु सबै घर गएकाले ठेकेदारमार्फत तत्काल फर्कन भनिएको छ । उनीहरुलाई निर्माण कम्पनीले ३/४ दिनभित्रै ल्याईपुर्‍याउने र आउनेबित्तिकै काम सुचारु गर्ने कार्यालयले बनाएको छ । पूर्व–पश्चिम दुवैतर्फ पुल एप्रोचबाहेक सडक कालोपत्रे भईसकेको र गाईघाटमा युद्धस्तरमा काम भईरहेकै बेला लकडाउन सुरु भएपछि बजारक्षेत्र पुरै अस्तव्यस्त बन्न पुगेको छ । गरिरहेकोे काम छाडेर मजदुर र ठेकेदार लकडाउनमा फसेपछि लोडर, स्काभेटर र सडकमा थुपारिएको गिटी, ढुंगा र बालुवाले सडक अस्तव्यस्त भएर बजार कुरुप भएको हो ।

ठेकेदार कम्पनी जेडआईइसी÷शर्मा÷लामा जेवीका परियोजना व्यवस्थापक (पिएम) सीताराम दाहालले धमाधम काम भईरहेकै बेला लकडाउन लागेपछि सबै सामान छाडेर मजदुर र ठेकदार हिड्नु परेको बताए । उनका अनुसार लकडाउनले कोही साईटमा निस्कन नपाउँदा मेसिन उपकरण सबै सडकमै छाडेर हिड्नु पर्दा बजारक्षेत्र कुरुप हुनुका साथै खियाले खाएर कम्पनीलाई करोडौं घाटा लागेको छ । ‘वर्खा लाग्न लागेकाले बजारमा चाँडो काम सक्नेगरी धमाधम लागिरहेका थियौं’ पिएम दाहालले भने ‘त्यतिबेला ठ्याक्कै लकडाउन सुरु भयो, त्यसपछि कतै निस्कन र सामान थन्काउनसम्म भ्याएनौं । जहाँ थिए, त्यहीँ छाडेर हिड्नुपर्दा बजार पनि नराम्रो देखियो, कम्पनीलाई धेरै घाटा भयो ।’

पश्चिममा प्राथमिक आँखा उपचार केन्द्र र पूर्वमा बरुवा पुलसम्मको १.२ किलोमिटर खण्ड बजारक्षेत्रमा कालोपत्रे गर्नुअघिको पूर्वाधार सकिनै लाग्दा लकडाउन सुरु भएको हो । चैत ११ गतेदेखि लकडाउन सुरु हुनुअघि सेतोपुल, मुख्य चोक र असारी लाईनका ४ मध्ये ३ वटा कल्भर्ट ढलान सकिइसकेको थियो । पुरानो गाईघाट (पिजी) चोकका स्थानीयबीच बिबाद भएर करिव महिनादिन काममा अवरोध आउँदा त्यहाँको कल्भर्ट मात्र ढलान हुन बाँकी थियो ।

त्यसबेलै लकडाउन सुरु भएपछि पुरै काम ठप्प भयो । आँखा उपचार केन्द्रदेखि मुख्य चोक, बिपी चोक हुँदै असारी लाईनसम्म दुवैतर्फ नाला बनिसके पनि पिजीचोकदेखि पूर्वतर्फ बिबादले नाला र पोल गाड्ने काम पुरा हुनै बाँकी छ । लकडाउन सुरु हुँदाताका मुख्य चोकको कल्भर्ट बनिनसकेकाले बिपी चोकदेखि असारी लाईन हुँदै पिजी चोकसम्म नाला बनाउने काम अन्तिम चरणमा पुगेको थियो ।

पिएम दाहालले मनसुनी वर्षा सुरु भईसकेकाले छिटो काम गर्न सरकारको ध्यानाकर्षण गराएपछि काम गर्ने अनुमति पाएको बताए । उनले मजदुर टोली आईपुग्नेबित्तिकै धमाधम काम अघि बढाउने बताए । वर्खायाममा काम नसके बजारक्षेत्र डुवान हुने खतरा रहेकाले पनि धेरै संख्यामा मजदुर केन्द्रित गरी छिटो काम सक्ने योजना उनको छ । कोरोना संक्रमण हुन नदिन सकेसम्म भौतिक दूरी कायम गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रोटोकल अनुसार मजदुर परिचालन गरेर कामलाई सुचारु गर्ने दाहालले बताएका छन् ।

 

प्रकाशित: २३ वैशाख २०७७ १५:२६ मंगलबार

लकडाउन योजना कोरोना_भाइरस