समाज

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

वीरेन्द्रनगर- सल्यानमा चट्याङ लागेरे एक जना बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कुमाख गाउँपालिका–३, चिनालीकी ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चट्याङ लागेर कुमाख गाउँपालिका–३, का वडासदस्य २६ वर्षीय अतिराम राना, उनी श्रीमती ३० वर्षीया दीपा राना, छोरा ८ वर्षीय यमराज राना, २६ वर्षीय भाई टेकबहादुर राना र भतिजा २३ वर्षीय रणसिंह राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सल्यान छत्रेश्वरी गाउँपालिका–२, दहवाङका खगेन्द्रप्रसाद भण्डारीको घरमा चट्याङ परेको छ । यहाँ एउटा राँगाको मृत्यु भएको र अन्यलाई चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा चट्याङ लाग्दा तीन घाइते
रुकुम पश्चिमः रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१०, चुनमा पनि चट्याङ लागेर तीनजना घाइते भएका छन् । चट्याङ लागेर २३ वर्षीया यमुना कठायत, १४ वर्षीया प्रंसशा बुढा र ५० वर्षीया फलसरी बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कविराज रोकायाले जनाकारी दिए । उनका अनुसार एउटा घरमा लागेको चट्याङले दुई÷तीन घरमा असर गरेको छ । त्यस्तै सोमबार सानीभेरी गाउँपालिका–४, का सिताराम ओलीको घरमा चट्याङ लागेको थियो । तर उक्त चट्याङबाट चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

बेवारिसे शव फेला
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–४, छोटे बजार नजिकैको भेरी नदीमा एक अधबैसे पुरुष मृत भेटिएका छन् । मृतकको शव पानीमा आधा डुबेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिमिल्सिनाका अनुसार प्रारम्भिक अध्ययन सुरु भएको छ ।

बँदेलको आक्रमणबाट घाइते
दैलेखको दुल्लु नगरपालिका–४, तलीगाउँकी १३ वर्षीया प्रभा भण्डारी जंगली बँदेलको आक्रमणबाट घाइते भएकी छिन् । उनी घरबाट करिब तीन सय मिटर पश्चिमतर्फ बँदेलको आक्रमणमा परेकी हुन् ।

प्रकाशित: २३ वैशाख २०७७ १४:०२ मंगलबार

चट्याङ बँदेल आक्रमण