समाज

चुलोचौकोसँगै पाल टांगेर सीमामा निगरानी

कपिलवस्तुको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले पाल भित्रै खाना पकाउदै । दुरबिनले हेरेर सीमा सुरक्षा गरिदै ।

कपिलवस्तु- सशस्त्र प्रहरीले अहिले चुलोचौकोसँगै जिल्लाको ९३ किलोमिटर सीमा सुरक्षा गरिहेका छन् । कोरोना भाइरस फैलन नदिन चोर नाका र खुला सीमाबाट आवगमन रोक्न र सीमा सुरक्षाका लागि दिनरात सीमा सुरक्षा दिने गरेका छन् । निकै दुःख कष्ट सहेर चुलोचौकासँगै पालमा बसेर सीमा सुरक्षा दिने सशस्त्र प्रहरी भने तनावमा छन् । अहिलको हावाहुरी, घाम, पानी, लामखुट्टे लागतयका कारण उनीहरु समस्यामा पर्ने गरेका छन् ।

यशोधरा गाउँपालिकाको पुर्निहवास्थित सीमा निगरानीका लागि खटिएका सशस्त्रका नायव निरीक्षक लोकदर्शन खड्काले साझ/विहान हावा चल्नासाथ तनावमा पर्ने गरेको बताए । ‘यस्तो हावाहुरीको मौसममा खुला आकाश मुनी खाना पकाउनु पर्छ’ उनले भने ‘हावा चल्ना साथ खाना पकाउन सकिदैन बैशाखमा हावहुरीले आगलागीको उत्तिकै जोखिम हुन्छ ।’ त्यसमाथि खाना पकाउदा हावाहुरी चल्दा होसहवास उड्छ । टेन्टमुनी बस्दा हावाहुरी र चट्याङ पर्दा भगवानकै नाम लिदै बस्नु पर्छ । सुदुर पश्चिमको कृष्णनगर नगरपालिका–१२, भदुईमा सीमा निगरानी गर्न खटिएका निरीक्षक बृत्तबहदुर थापाले टेन्टमा प्रचण्ड गर्मीले बसी नसक्नु हुने गरेको बताए । ‘ छेलछाउमा ओत लगाउने ठाउ छैन ’ उनले भने ‘ चर्को घामले गार्‍हो बनाएको छ ।

हावाहुरीले टेण्ट उडाउला जस्तै गर्छ । वर्षाले पानी चुहिएर समस्या बनाएको छ । थापा सशस्त्रको ३२ नं गण सुर्खेतबाट ८५ जनाको टोली लिएर यहाँ आएका छन् । कोरोना भाइरस फैलन नदिन सीमामा टेण्ट गाडेर दुःख कष्ट सहदै सशस्त्र प्रहरी खटिएका छन् । उनीहरुको २४ सैं घण्टा ध्यान सीमामै हुन्छ । भारततिरबाट संक्रमित व्यक्ति नआउन भनेर दिनरात सीमाकै निगरानीमा हुन्छ । सबै अस्थाई टेण्ट पाल टागेर बसेका छन् । कतिपय ठाउँमा खाना पकाउदै सीमा सुरक्षा गर्दै आएका छन् । साँझ विहानको चुलोचौकोको जोहोमा पनि उनीहरु आफै लाग्नु परिरहेको छ ।

परपर रहेका ठाउँमा आफै पकाएर खाने व्यवस्था छ । सशस्त्रको स्थाई युनिट बिओपी, गुल्म रहेको ठाउँमा भने त्यहीबाट खाना ख्वाउने व्यवस्था मिलाईको छ । दुरबिनबाट टाढाटाढासम्म सीमाको निगरानी गरिएको छ । रातिमा टर्च लाईट बालेर निगारानी गरिन्छ । प्रचण्ड गर्मीमा उभिएरै खलखली पसिना बगाउदै सुरक्षा दिनु परेको छ । ‘अधिकांश टेन्ट एकान्त र सुनसान ठाउँमा छन्,’ हर्दौना नजिक खटिएका बर्दघाटबाट आएका सहायक निरिक्षक सुरेन्द्र खत्रीले भने, ‘रातिका बेला अझ चनाखो हुनु पर्छ ।’ कतिपय टेण्ट जंगल नजिक छन् । त्यहाँ वन्यजन्तुको पनि उस्तै डर हुन्छ । ‘सुत्ने भन्दा पनि रातमा सतर्कता अपनाएरै बस्छौं,’ अर्का टेण्टका सहायक निरिक्षक कमल यादबले भने, ‘लामखुट्टे उस्तै लाग्छ ।’ तर राष्ट्रले दिएको जिम्मेबारी पूरा गर्न पाउदा खुसी लागेको उनले बताए ।

कतिपय ठाउँमा भूईमै बसेर खानु पर्छ । समस्या त धेरै छन् निरिक्षक बृत्तबहदुर थापा भने सुरक्षा ठूलो कुरा भएकाले सुविधाका कुरा गौड बनेका छन् । कही कही स्थानीयले खाट टेबुल सहयोग गरेका छन् । अधिकाँश ठाउमा सीमित स्रोत र साधनमा चित्त बुझाउनु परेकोछ । जिल्लासंग सीमा जोडिएको ९३ किमीमा ४५ ठाउमा पाल र टेण्ट टागेर अस्थई पोष्ट खडा गरिएकोछ । त्यहाबाट ६५ बढी खुला ठाउमा डियुटी दिईएकोछ । सशस्त्रको उपस्थितीले भारतसंग सीमा जोडिएको सबैठाउ सशस्त्रले सील गरिकोछ । उनीहरुलाई सीमा रहेको ६ विओपी र एक भन्सार राजस्व गुल्मबाट परिचालन र समन्वय गरिरहेकोछ । जिल्लामा ३ सय बढी थप जनशक्ती आएकोछ ।

उक्त युनिटले थप जनशक्तीलाई त्यस्ता लुकीचोरी आवतजावत गर्न सकिने नाकामा अस्थाई पोष्ट बनाएर परिचालन गरेको सशस्त्रको २८ नंबर गणका उपरिक्षक जनकराज पुरीले बताए । ‘२४ सै घण्टा डियुटी लगाएका छौं,’ उनले भने, लुकीचोरी आवतजावत हुने नाका ठप्प छ ।,’ जिल्लाभारि सशस्त्र एक हजार ४ सय बढी जनशक्ती परिचालन गरिएकोछ । जिल्ला स्थित सशस्त्रको गणले सकेसम्म लामखुट्टेको धुप, ओडोमस र सेनिटाइजर लगायतका सुरक्षात्मक सामग्री प्रदान गरेकोछ । आफै पकाएर खाने ठाउमा खाद्यान्न र तरकारी पुर्‍याउने गरिएको छ ।

पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी खुला सीमा भारतसंग जोडिएकोछ । एउटादेखि अर्को पोष्ट देखिने गरि खटिएका छन् । ‘आई कन्ट्याक्ट हुने गरि पोष्ट राखिएका छन्,’ ५ नंबर प्रदेश बिन्ध्यबासीनी बाहिनीका प्रमुख डिआईजी नारायणदत्त पौडेलले भने, ‘कही कही वन, नदी र तालकाकारण अली पर छन् ।’ त्यस्ताठाउमा मोबाईल पैदल गस्ती गरेर सीमा निगरानी गरिरहेको उनले बताए । त्यस्तै गाडीबाट नियमित पेट्रोलिङ गरेका निगरानी सशक्त बनाएका छौं । सीमाका ६ जिल्लाका २ सय ५० बढी अस्थाई पोष्ट बनाईएका छन् । त्यहाँबाट छेउछाउमा खटिएर सीमा निगरानी गरिएको छ ।

 

प्रकाशित: २३ वैशाख २०७७ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App