समाज

नेपालगन्जको त्रिवेणीमोडमा प्रहरी र स्थानीयबीच झडप

स्थानीय बासिन्दाले तोडफोड गरिदिएको सवारी साधन । तस्बिर : सामाजिक सञ्जालबाट

नेपालगन्ज- नेपालगन्जको त्रिवेणी मोडमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेका स्थानीयको भिडलाई हटाउन खोज्दा झडप भएको हो ।

सो क्रममा प्रहरीले केही ब्यक्तिलाई लाठीले हानेपछि स्थानीय बासिन्दाले ढुंगा, मुढा गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । ‘निषेधाज्ञा लागु नहुदै केही ब्यक्ति सामान किन्नको लागि बजारमा निस्केका थिए, त्यहीबेला पुलिसको गाडी आयो, त्यतिकैमा प्रहरीसँग विवाद भयो र झडप भयो,’ एक प्रत्यक्षदर्शीले भने । सो क्रममा आक्रोशित भएका स्थानीयले प्रहरीको सवारी साधनमा समेत तोडफोड गरिदिएका छन् ।

स्थानीय प्रशासनले मंगलबार बिहान ११ बजेबाट लागु हुने गरी तिन दिनसम्मका लागि निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाबारे नगरबासीलाई जानकारी दिन प्रहरीले बिहानैदेखी माइकिङ गरिरहेको थियो । माइकिङ गर्दै त्रिवेणीमोड पुगेको प्रहरीले केही स्थानीयको भिड लागेको देखेपछि सम्झाउन खोज्दा झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले माइकिङ गर्दै हिडेको प्रहरीको गाडीमा एक्कासी स्थानीयले ढुंगा, मुढा गरेको बताएका छन् । सो क्रममा प्रहरीले एक स्थानीयलाई नियन्त्रणमा पनि लिएको बताइएको छ । झडपका क्रममा केही प्रहरी र स्थानीय बासिन्दा सामान्य घाईते भएका छन् । अहिले सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित: २३ वैशाख २०७७ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App