समाज

पटकपटकको आगलागीले त्रासमा फुङ्लिङ बजार

ताप्लेजुङ, - ताप्लेजुङको फुङ्लिङ बजारमा पटकपटक आगलागीका घटना दोहोरिन थालेपछि स्थानीय त्रसित बन्न थालेका छन् । बजार विस्तार भएसँगै पहिलोपटक २०६० चैत १५ गते ताप्लेजुङको फुङ्लिङ बजारको वीरेन्द्रचोकमा आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थिए । करिब ५१ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सो घटनापछि पाँचपटक बजार क्षेत्रमा आगलागी भएको छ । 

वीरेन्द्रचोकका आगलागीपीडितले बैंकको ऋण, दाताको सहयोग र सहानुभूतिबाट आगलागीले उजाड बनेको स्थललाई नयाँ बजारका रूपमा उठाए । वीरेन्द्रचोक उठेको नौ वर्षपछि २०६९ माघ २६ मा फुङ्लिङको पल्लोबजार शेर्पा टोलमा भएको आगलागीमा आठ घर जले । यसको वर्ष दिन नहुँदै फुङ्लिङ बजारले अर्को आगलागीको पीडा खेप्यो । सबैजना तिहारको रमाइलोमा व्यस्त भएका बेला २०७० कात्तिक १८ मा फुङ्लिङको टुक्रे बजार फेरि आगोले लपेटियो । त्यतिबेला पाँच घर जल्दा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको थियो । 

यसैगरी २०७१ चैत ९ गते फुङलिङकै तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर खरानी बनेका थिए । यसबाट ३० करोडभन्दा बढी मूल्यबराबर क्षति भएको थियो । २०७४ कात्तिकमा फुङ्लिङ नगर क्षेत्रमा पर्ने नवज्योति बोर्डिङ स्कुलनजिक दुई खवास दाजुभाइको घर मध्यदिनमै खरानी भयो । त्यतिबेला झन्डै ६० लाख रुपैयाँ हाराहारीको क्षति भएको थियो । 

शुक्रबार भएको आगलागीसँगै १७ वर्षयता फुङ्लिङभित्रै ६ वटा आगलागीका घटना भइसकेका छन् । फुङ्लिङ बजारमा आगलागीका घटना पटकपटक दोहोरिने गरेका कारण स्थानीय त्रसित बन्दै गएका छन् । यसरी आगलागीका घटना बारम्बार दोहोरिनुमा मानवीय हेलचेक्रयाइँ प्रमुख कारण रहेको विपद्का क्षेत्रमा लामो समय काम गरेका ताप्लेजुङ रेडक्रस सोसाइटीका पूर्वसभापति गणेश अधिकारीको भनाइ छ । तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी शान्तिराज कोराइराला पहाडी क्षेत्रमा हुने अधिकांश आगलागीका घटनामा मानवीय त्रुटि प्रमुख कारणका रूपमा देखिएको बताउँछन् ।

पहाडी भेगका अधिकांश घरमा काठ र टिनका संरचना हुनु र पक्की घरको माथिल्लो तलामा पनि काठद्वारा निर्मित टुङ्सी राख्ने चलनले आगोको जोखिम बढाएको स्थानीय मनमणि काफ्लेले बताए । दाउराको प्रयोग गरिने यहाँका केही घरमा मजाले सुकोस् भनेर अगेनाभन्दा माथि दाउराको हार राख्ने चलन रहेको र कुनै कारणले आगोले ती दाउरा टिप्दा पनि आगलागी हुने गरेको जिल्ला रेडक्रस सोसाइटीका सभापति इन्द्रबहादुर गुरुङ बताउँछन् ।

सहयोग जुट्ने क्रम जारी 
आगलागीपीडित परिवारलाई सहयोग जुट्ने क्रम सुरु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्ण क्षति भएका आठ घरधनीलाई जनही ५० हजार रुपैयाँ र आशिंक क्षति पुगेको एक घरधनीलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । यस्तै आगलागीमा परी डेराभाडामा बस्ने १६ परिवारलाई जनही १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ डोरेन्द्र निरौलाले जानकारी दिए । यस्तै ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले पीडित सबै परिवारलाई जनही तीन हजार रुपैयाँले र कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई जनही ३ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । सावादिन फुङ्लिङ परिवार समाजले समाजका दुई सदस्य क्रमशः खेम केसी र खड्ग थापालाई जनही २० हजार तीन सय रुपैयाँका दरले राहत दिइएको समाजका दिलकुमार लिम्बूले जानकारी दिए । साई समाज विराटनगरमार्फत १७ परिवारलाई एकएक थान ग्याँस सिलिन्डर र ग्याँस चुलो प्रदान भएको छ ।

यसैबीच राहत सहयोग गर्नेले अब फुङ्लिङ नगरपालिकाले निर्माण गरेको आगलागीपीडित राहत कोषमार्फत मात्र सहयोग गर्न पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहत सहयोग प्रणालीलाई एकद्धार नीति लागू गर्ने गरी फुङ्लिङ नगरपालिका राहत संकलन तथा सहयोगको प्रक्रिया अघि बढाउने निर्णय गरेको समेत प्रजिअ निरौलाले जानकारी दिए । उनका अनुसार अब नगरपालिकाको अनुमतिबिना कसैले पनि आफूखुसी सहयोग संकलन तथा वितरण गर्न पाइनेछैन । 

प्रकाशित: २३ वैशाख २०७७ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App