समाज

उदयपुरका पहिला संक्रमित १३ को पिसिआर नेगेटिभ

उदयपुर, - उदयपुरमा पहिलोपटक भेटिएका कोरोना संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका–३ भुल्के नुरी मस्जिदका उनीहरूको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । 

कोसी अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुेबदीले  सोमबार बिहानको रिपोर्टमा सुरुका १३ जनामाकोरोना नेगेटिभ देखिएको बताए । मस्जिदका १२ भारतीयसहित १६ जमातिमध्ये पहिलो पटक उनीहरूमा संक्रमण देखिएको थियो । उनीहरूपछि संक्रमण पुष्टि भएका थप १५ जना पनि कोसीकै आइसोलेसनमा उपचाररत छन् । १३ पछि भेटिएका ८ संक्रमितको पनि आइसोलेसन बसाइ १४ दिन पुगेकाले दोस्रो स्वाब परीक्षण हुँदैछ ।

सुरुका १३ मा कोरोना नेगेटिभ देखिएपछि पुनः पिसिआर परीक्षण गरिने र त्यसमा पनि रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज गरिने अस्पताललाई उद्धृत गर्दै सवेदीले बताए । ‘मस्जिदका पहिलो १३ संक्रमितलाई आइसोलेसनमा राखेको १४ दिनपछि परीक्षणगर्दा रिपोर्ट नेगेटिभ आयो’ सुबेदीले भने ‘अव पुनः टेस्ट गरिन्छ, त्यसमा पनि नेगेटिभ आए डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।’ 

भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । मस्जिदमा रहेका भारतीय जमातिमा संक्रमण पाइएपछि उनीहरूबाटै अन्यमा संक्रमण सरेको हुनसक्ने अनुमान गर्दै मस्जिद आसपास र अन्य मस्जिदक्षेत्र ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा पिसिआर परीक्षण गरिएको थियो । मस्जिदभन्दा बाहिर पहिलो चरणमा ६९ को परीक्षण गर्दा आठजना संक्रमित भेटिएका थिए भने बाँकी ३ जमातिमा पनि संक्रमण पुष्टि भएको थियो । तेस्रो चरणमा संकलित दुई सय ५२ मध्ये थप ३ जनामा देखिएसँगै भुल्केमा २८ जना संक्रमित पुष्टि भएका थिए । 

त्यसपछि भुल्केसँग सम्पर्क भएको अनुमानका आधारमा त्रियुगाकै डिएमगेट, जलजले, देउरी मस्जिद र आसपासका १४ महिलासहित ८३ तथा पछिल्लो शुक्रबार भुल्केकै ३३ को परीक्षणरिपोर्ट आइतबार नेगेटिभ आएको थियो । पछिल्लोपटक भुल्केका ३३ को रिपोर्टले नेगेटिभ अन्य मस्जिद सुरक्षित पाइएको छ । त्यससँगै भोजपुरमा फेला परेका संक्रमितसँग सम्बन्ध देखिएको बेलाका नगरपालिकाका–७ मैनामैनीका पाँचजना तथा ताप्ली गाउँपालिकाका दुईजनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको सुवेदीले बताए । 

प्रकाशित: २३ वैशाख २०७७ ०२:२३ मंगलबार

कोरोना_भाइरस पिसिआर_रिपोर्ट