समाज

राहत वितरणमा झडप : ९ राउन्ड हवाई फायर, ४ राउन्ड अश्रु ग्यास प्रहार

लहान- वडा कार्यालयले गरेको राहत वितरणमा असन्तुष्टि जनाउँदै विरोधमा उत्रीएका स्थानीय र रोक्न खोज्ने प्रहरीबीच मिर्चैयामा झडप भएको छ । झडपको क्रममा प्रहरी नायव उपरिक्षकसहित पाँच जना प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर–७ मा राहत वितरणका लागि वडा कार्यालयले तयार पारेको लिस्टमा आफूहरुको नाम छुटाइएको भन्दै करिब तीन सय स्थानीय असन्तुष्टि जनाउँदै आएका थिए । असन्तुष्टि सम्बोधन नगरी राहत वितरण सुरु गरेपछि उनीहरु विरोधमा उत्रेका थिए । राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्यो वडा अध्यक्ष रामकुमार यादवले नागरिकसँग भने,‘राहत पाउनुपर्ने भन्दा पनि राहत कार्यलाई नै बिथोल्ने गरी हुल बाँधेर केहि मानिस आक्रमणमा उत्रेका थिए । राहत वितरण बिथोल्ने समुह मलाई लक्षित गरी ढुँगामुढा प्रहार गरेका थिए, प्रहरी जोगायो ।’

प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरी राहत वितरण कार्य बिथोल्न पुगेको भिडलाई तितरबितर गरेको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

विरोधमा उत्रेकाहरुले राहतको सूचीमा हुनेखानेको नाम समावेश गरेर असली पीडितलाई किनारा गरेको आरोप लगाउँदै नाराबाजी गरेका थिए । वडा अध्यक्ष यादवकाअनुसार यस वडाबाट दुई सय ७६ जना विपन्नको विवरण समितिबाट संकलन गरिएको छ । संकलित विवरण अनुसारका व्यक्तिहरु मध्ये सोमबार एक सय ३२ जनालाई राहत वितरण गरिएको छ ।

बाँकीलाई यसअघि नै वितरण गरिसकिएको छ । १६ पोका राहत रामग्री अझै बाँकी रहेको अध्यक्ष यादवले बताए । १६ हजार रुपैयाँ पनि बाँकी नै छ । छुटेका जेनुन पीडितलाई यकिन गरेर राहत उपलब्ध गराउने उनले बताए ।

प्रकाशित: २२ वैशाख २०७७ १३:३२ सोमबार

राहत_वितरण झडप हवाई_फायर