समाज

व्यवसायीले मागे विशेष राहतको प्याकेज

मोरङ- सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउनको समय लम्बिँदै जाँदा उद्योग, व्यापार, व्यवसायीको क्षेत्रमा समस्या उत्पन्न भएका सरकारले विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने विराटनगरका व्यवासायीले माग गरेका छन् ।

विराटनगरको विराट व्यापार संघलगायत १२ वटा विभिन्न व्यापारीक संघसंगठनले सोमबार विज्ञप्ति जारी गर्दै सरकारसँग लकडाउनले समस्या सिर्जना गरेको भन्दै विशेष राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले लकडाउनका कारण व्यपारिक क्षेत्रमा पुगेको समस्या न्यून गर्न सरकारसमक्ष १२ बुँदे सहुलियत माग अघि सारेको बताए ।

लकडाउनबाट व्यवसायमा असर परेको भन्दै अध्यक्ष थापाले राहत प्रदान गर्न बैंकको ब्याज लकडाउन सुरु भएदेखि अन्त्य नभएसम्म शतप्रतिशत मिन्हा हुनुपर्नेमा बताए । लकडाउन खुलेको ६ महिनासम्म बाँकी ब्याज सहुलियत दरमा भुक्तानी गर्ने व्यवस्थाको माग गर्दै अध्यक्ष थापाले व्यवसायीले सो अवधिमा बुझाएको ब्याजमा समेत छुटको व्यवस्था गर्नुपर्ने बताए।

आर्थिक वर्ष २०७६/७७ को आयकर बुझाउने समय असारमसान्तबाट थप ६ महिना बढाउनुपर्ने, विद्युत् तथा खानेपानीको महसुल भुक्तानीमा ३ महिनाको छुटको माग गर्दै संस्थाहरूले जरिवाना हटाइनुपर्ने प्रावधान राख्न आग्रह गरेका छन् । लकडाउनका समय भन्सारमा रोकिएका सामानको गोदाम भाडा र हर्जाना शुल्क मिनाह गर्नसमेत सरकारसमक्ष उनीहरू माग राखेका छन् । साना र ठूला व्यापार, व्यवसायीलाई यस्तो परिस्थितिमा विशेष राहत दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित: २२ वैशाख २०७७ १२:१४ सोमबार

व्यवसायी राहत कोरोना_भाइरस