समाज

ताप्लेजुङका ३ हजार ३ सय बढी बिपन्न परिवारले पाए राहत

ताप्लेजुङ- लकडाउनका कारण छाक टार्न नै समस्यामा परेका घररिवारलाई दिईने राहत ताप्लेजुङमा अहिले सम्म ३ हजार ३ सय १३ परिवारलाई वितरण गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले जनाएको छ ।

समिति सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार यहाँका ९ स्थानीय तहमध्ये ४ स्थानीय तहले मात्र अहिले सम्म यो प्रकृतिको राहत वितरण गरेका छन् । निरौलाका अनुसार फुङ्लिङ नगरपालिकाले १ हजार १३, आठराई त्रिबेणी गाउँपालिकाले ८ सय ३७, फक्ताङ्लुङ गाउँपालिकाले ५ सय ३६ र सिरिजङ्घा गाउँपालिकाले ९२७ घरधुरीलाई राहत वितरण गरेका छन् । फुङ्लिङ नगरपालिकाले १७ हजार ४ सय ५५ किलोग्राम चामल, २ हजार २ सय ५२ किलो दाल, १ हजार २ सय ३९ लिटर खानेतेल, १ हजार २ सय ३९ किलोग्राम नुन र २ हजार २६ थान साबुन वितरण गरेको छ ।

यस्तै आठराई त्रिबेणी गाउँपालिकाले १७ हजार ४ सय ८४ किलोग्राम चामल, १ हजार १ सय १८ किलोग्राम दाल, ६ सय ३२ लिटर खानेतेल, ६ सय ७३ किलोग्राम नुन र १ हजार १ सय ८२ वटा साबुन बितरण गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाले १३ हजार ८३ किलोग्राम चामल, २ सय १९ किलो दाल, ३ सय ४० लिटर खानेतेल,४ सय १६ किलोग्राम नुन र १ सय ५८ थान साबुन तथा ७९ वटा टुथपेष्ट वितरण गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले जनाएको छ ।

उता सिरिजङ्घा गाउँपालिकाले २३ हजार १ सय किलोग्राम चामल, २ हजार ७ सय ११ किलोग्राम दाल, १ हजार ७ सय ७८ लिटर खानेतेल र १ हजार ७ सय ७८ किलोग्राम नुन र ३ हजार ५ सय ९० थान साबुन वितरण गरेको छ । सबैगरी अहिले सम्म यहाँ ७१ हजार १ सय २२ किलोग्राम चामल, ६ हजार ३ सय किलोग्राम दाल, ३ हजार ९ सय ८९ लिटर तेल, ४ हजार १ सय ६ किलोग्राम नुन र ७९ वटा टुथपेष्ट वितरण भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

 

प्रकाशित: २२ वैशाख २०७७ ०९:१६ सोमबार

बिपन्न_परिवार ताप्लेजुङ राहत