समाज

समीक्षाको उपचार खर्च एन्फाले व्यहोर्ने

महिला फुटबलर समीक्षा मगरको स्वास्थ अवस्था बुझ्दै विराटनगर महानगरपालिका प्रमुख र एन्फाका प्रवक्ता । तस्बिर : चुमन/नागरिक

मोरङ- विराटनगरमा उपचार गराइरहेकी महिला फुटबलर समीक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ । उदयपुर बेलका नगरपालिका–५ की १६ वर्षीया मगरको वैशाख १२ गते घरमा काम गर्ने क्रममा दाहिने आँखामा चोट लागेको थियो ।

चोटग्रस्त आँखा जचाउन धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान आउँदा उनलाई ज्वरो आएपछि स्वाबको नमुना लिँदै डाक्टरले आइसोलेसनमा बस्न पठाए । त्यहाँ उनलाई डाक्टरले परैबाट हेरेर औषधि दिए । तीन दिनपछि रिपोर्ट नगेटिभ आयो र धरानमा उपचार नहुने विराटनगर लैजानु भन्दै डिस्चार्ज गर्‍यो । त्यहाँ आसोलेसनमा बस्नु नै जटिल समस्या सिर्जना भयो, समीक्षाका दाजु सनम मगरले बताए ।

बिहीबार मगरलाई विराटनगरस्थित विराटनगर आँखा अस्पताल भर्ना गरिएको थियो । मगरको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले एन्फाकोतर्फबाट प्रारम्भिक उपचार खर्च स्वरूप एन्फाका सह–महासचिव वसन्त अर्यालले नगर २५ हजार र विराट साँग्रिला स्पोर्टिङ क्लब नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

उपचाररत मगरलाई आइतबार अस्पतालमा भेट्न आएका एन्फाका प्रवक्ता किरण राईले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च एन्फाले व्यहोर्ने बताए । राईसँगै अस्पताल विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली पनि पुगी मगरको स्वास्थ अवस्था बुझेका थिए ।

‘एन्फाले शनिबार प्रारम्भिक चरणमा २५ हजार रुपैयाँ चोटग्रस्त मगरको परिवारलाई उपलब्ध गराएको हो,’ प्रवक्ता राईले भने, ‘युवा महिला खेलाडीलाई परेको दुःखमा एन्फा साथमा रहेको र एन्फाले उनलाई आर्थिक रूपमा कुनै किसिमको समस्या हुन दिनेछैन । आँखाको उपचारका क्रममा लाग्ने सबै खर्च एन्फाले व्यहोर्ने छ ।’ आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई एन्फाले समीक्षाको उपचारपछि पोषिलो खानेकुरामासमेत सहयोग गर्ने राईले बताए ।

त्यस्तै बिरामी समीक्षालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्न थालेको छ । अस्पताल पुगेका विराटनगरका प्रमुख भीम पराजुलीले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ समीक्षाको उपचारमा सहयोग गर्दै परिवारलाई प्रदान गरेका छन् । पराजुलीले सहयोग रकम दिँदै मगर परिवारलाई परेको दुःखमा महानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै एन्फाको महिला विभाग प्रमुख हरि खड्का र महिला राष्ट्रिय खेलाडीहरूले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । विराटनगर आँखा अस्पतालले आँखामा गम्भीर चोट लागेको र इन्फेक्सन धेरै भएको जनाएको छ ।

 

प्रकाशित: २१ वैशाख २०७७ १३:४४ आइतबार

उपचार एन्फा महिला_फुटबलर