समाज

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

दैलेख - लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ। दैलेखको गुराँसे क्षेत्र तरकारी उत्पादनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ। विशेष गरेर आलु र अन्य तरकारी उत्पादन हुने गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रबाट गत वर्ष मात्र रु २२ करोडको तरकारी जिल्ला बाहिर निर्यात भएको थियो। 

कोरोना भाइरस सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा लम्ब्याएपछि यहाँ उत्पादित तरकारीजन्य सामग्री बिक्री वितरणमा समस्या हुने हो कि भन्ने चिन्तामा किसान छन्। धेरैजसो किसानले तरकारी बजारसम्म पुर्‍याउन सकेका छैनन् भने उत्पादन भएका कृषि उपज वस्तुहरु जिल्ला बाहिर जान सकेका छैनन्। किसानको गुनासो बढ्न थालेपछि कृषि विकास कार्यालय दैलेखले कार्यालय प्रमुखको नेतृत्वमा विशेष टोली निर्माण गरेर किसानको बारीसम्म पुगेको हो।

किसानलाई आवश्यक पर्ने बीउ तथा कीटनाशक औषधि उपलब्ध गराउनुका साथै उत्पादन भएका तरकारीको मन्डीसम्म कार्यालयकै गाडीमा ल्याउने सुविधा दिएपछि किसान खुशी छन्। उन्नति कृषि एग्रोफार्ममा उत्पादन भएका फर्सी र काँक्रा बजारसम्म पुर्‍याउन समस्या भएको बेला कृषि विकास कार्यालयले मन्डीसम्म पुर्‍याइदिएपछि सहजै बिक्री भएको किसान देवेन्द्र गोदारले बताए। कृषि विकास कार्यालय दैलेखको सहजीकरणमा दैलेखको महाबु गाउँपालिकामा उत्पादन भएको १८० क्विन्टल आलु सुर्खेत पठाइएको छ।

किसानले गुनासो गरेको आधारमा बारीमै पुगेर कार्यालयको सवारी साधानमार्फत मन्डीसम्म तरकारी ल्याउने काम गरिदिएको कार्यालय प्रमुख तिलक पाण्डेले जानकारी दिए। प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा दैलेख जिल्लाका विभिन्न स्थानमा सामुदायिक बीउ बैंक पकेट क्षेत्र निर्माण गरिएको छ। सोहीअनुसार दुल्लू नगरपालिका–१३ मा अहिले रु १० लाख सहयोगमा सहकारीमार्फत प्याज, गोलभेँडा, सिमी र मकै बीउ उत्पादनसँगै रैथाने बाली जोगाउने काम पनि शुरु गरिएको छ। कृषकले उत्पादन गरेका बीउको बजारीकरणसँगै सदरमुकाम दैलेख बजारमा रहेका बिक्री केन्द्रसम्म बीउ ल्याइदिने काम पनि कृषि विकास कार्यालय दैलेखले सञ्चालन गरेको छ।  रासस

प्रकाशित: २१ वैशाख २०७७ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App