समाज

भारतीय सुरक्षाबल एसएसबि र नेपालका जनप्रतिनिधिकै सहयोगमा भित्रिदै‌

बुटवल- मर्चवारस्थित एक गाउँपालिकाका स्वास्थ्य इन्र्चाजलाइ शनिबार बिहानै एक जना जनप्रतिनिधिले फोन गरे । ती जनप्रतिनिधिले भारतबाट फर्केका आफना मान्छेको उद्वारका लागि तत्काल एम्बुलेन्स पठाइदिन भने । मर्चवारस्थित ठोठरी नाकाबाट बिहान उज्यालो नहुँदै नेपाल पसेका दुई जनालाई जनप्रतिनिधिकै सक्रियतामा मुडीलाबाट एम्मबुलेन्सले उद्वार गर्‍यो । अहिले उनीहरु मर्चवारस्थित सम्मरीमाइ गाउँपालिकाको क्वारेन्टाइनमा छन् । सो क्वारेन्टाइनमा पछिल्लो दश दिन यता भारतबाट लुकिछिपी पसेका १२ जना छन् । ती मध्ये ४ जना दिल्ली र ८ जना बम्बैबाट आएका हुन । उनीहरु मध्ये अधिकाँस ठोठरी,र लुम्बिनीको कालीदह नाका आसपासबाट वारी आएका हुन ।

मर्चवारकै प्रिपहवा, खैराघाट र चन्नीघाट आसपासबाट बिहीबार ३ जना शुक्रबार ४ जना नेपाल पसेका थिए । उनीहरुलाई मर्चवारी गाउँपालिकाको श्रीजनता मावि क्वारेन्टाइनमा राखीएको छ । सो क्वारेन्टाइनमा पछिल्लो एक साता यता लुकिछिपी नेपाल आएका ११ जना छन् । ती सबै दिल्ली र बम्बैबाट फर्कीएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मजदुरीका लागि भारत गएकाहरु एकाएक गाउँमा देखिन थालेपछि स्थानीयले प्रहरीलाइ खबर गरेर क्वारेन्टाइनमा ल्याइएको मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद बरइले बताए ।

सिमावर्ती अर्को गाउँपालिका कोटहीमाइको मर्चवार आर्दश उच्चमाविको क्वारेन्टाइनमा पछिल्लो दुई सातामा नेपाल पसेका १० जना छन् । बिहिबा र शुक्रबार मात्रै सोही गाउका थप ६ जना नेपाल आएका थिए । तीनलाई पनि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनबहादुर कुँवरले बताए ।  

लकडाउनमा सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारीएको भनिएपनि  प्रदेश नं. ५ का बिभिन्न जिल्लास्थित सीमानाकामा भारतबाट लुकेर नेपाल प्रवेस गर्ने क्रम रोकीएको छैन । जसले कोरोनाको जोखिम बढाइरहेको छ । रुपन्देहीमा पहिलो पटक कोरोना संक्रमित देखिएका युवा पनि दुई साताअघि लुकेर नेपाल पसेका थिए ।

कारोना फैलिरहेका भारतका मुख्य मुख्य शहरबाटै नेपालीहरु लुकिछिपी आइरहेकाले सिमावर्ती गाउँहरु कोरोनाको उच्च जोखिमा रहेको सम्मरीमाइ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सीलाल माझी बताउँछन् । ‘लुकिछिपी आउनेहरु सबै क्वारेन्टाइनमा छैनन् । जती आएका छन् तीनको पनि ल्याव टेष्ट हुन सकिरहेको छैन ।  न र्‍यापिड टेष्टका लागि किट छ न स्वाब सकलन गरीएको छ’ माझीले भने । क्वारेन्टाइनमै भएकाहरुको परीक्षण हुन नसकीरहेको अवस्थामा लुकिछिपि आउनेहरुकै कारण जोखीम झन बढ्ने र बिकराल स्थिती पैदा हुन सक्ने प्रति उनले चिन्ता व्यक्त गरे ।

भारतीय सुरक्षाबल एसएसबि र नेपालका जनप्रतिनिधिकै सहयोग
सिमावर्ती गाँउका स्थानीयका अनुसार रुपन्देही, नवलपरासी, कपिलवस्तुका सहायक नाका तथा आसपासको क्षेत्रमा खोला, जंगल, झाडी र खेतबाट साँझ ढल्दै गएपछि लुकिछिपी नेपाल पस्ने क्रम सुुरु हुन्छ ।

लकडाउन छलेर नेपाल आएकाहरुका अनुसार भारतमा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीहरुले क्वारेन्टाइनमा पठाउनुको साटो सीमामा ल्याएर नेपाल पस्न सघाइरेका छन् । उनीहरुका अनुसार दिल्ली, बम्बै, लखनउ, पन्जाव, गोरखपुर लगायतका शहरबाट ट्रक र पैदल गरी मुख्य नाकासम्म आइपुगेकालाई भारतीय सीमा सुरक्षाबल एसएसबिले सहज तरीकाले नेपाल पस्न सकिने सहायक तथा भित्री नाकासम्म गाडीमै राखेर पुर्‍याइ दिन्छन् । नेताको पहुँचमा नभएकालाई रातसाँझमा खेत र झाडीमा छलीएरै भएपनि नेपाल पस्न दवाव दिन्छन् ।

पहुँच पुग्नेलाई वारीका जनप्रतिनिधि र सुरक्षाकर्मीको समन्वयमा सीमा पार गराइन्छ । सिमावर्ती गाउँपालिकाका स्वास्थ्यकर्मी र स्थानीयका अनुसार पछिल्लो समय लुकेर नेपाल पसेका भनिएकाहरुलाई जनप्रतिनिधि र सुरक्षाकर्मीहरुकै सहयोगमा गाउँ पस्न दिइएको हो । स्थानीय तहका जनप्रतिनिधि र केही सांसदले आफनो निर्वाचन क्षेत्रका स्थनीयलाई लुकिछिपी नेपाल पस्न सघाइरहेको उनीहरुको दावी छ । सिमावर्ती गाउँपालिकाकै एक जना स्वास्थ्य अधिकारी भन्छन् ‘जनप्रतिनिधिहरुले नै भोली बिहानै मेरो मान्छे आउदैछ एम्बुलेन्स तयार गरेर राख्नु भन्नुहुन्छ ।
नेताहरुले नै आफ्ना मान्छे या मतदातालाई लुकाएरै ल्याउने हो भने सबैलाई सुरक्षित उद्वार गरे भइगयो नी’ ती स्वास्थ्य अधिकारीले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने सीमा क्षेत्रमा कसैलाई पस्न नदिने गरी सुरक्षा व्यवस्था कडा पारीएको दावी गरे । लुकिछिपी नेपाल पस्नेहरुलाई पनि तत्काल नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाइएको प्रजिअ पन्थले बताए ।

प्रदेश नं. ५ का नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया भारतसंग सीमा जोडीएका जिल्ला हुन । प्रदेशमा कुल ३८५.२ किलोमिटर भारतसंगको खुल्ला सीमा छ । ६ वटा मुख्य भन्सार नाका छन । ६ वटा छोटी भन्सार र ४४ स्थानमा दशगजासम्मै पिच सडकले जोडेको छ । सुरक्षा निकायका अनुसार प्रदेशको सीमा क्षेत्रमा शसस्त्रका करिब ७ हजार र नेपाल प्रहरीका साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीमामा ५० मिटरदेखि डेढ सय मिटरको दुरीमा सशस्त्रका जवानहरु खटाइएको र कुनै प्रकारको आवतजावत हुन नदिन कडा निर्देशन दिइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजि प्रबिणकुमार श्रेष्ठले बताए । देशभर खटाइएका साढे ३१ हजार मध्ये प्रदेश ५को सीमा क्षेत्रमा मात्रै करिब ७  हजार खटाएका छौ’ डिआइजि श्रेष्ठले भने । सीमा क्षेत्रमा नेपाल प्रहरीका साढे ६ हजार खटाइएको प्रदेश ५ को प्रदेश प्रहरीका प्रवक्ता  प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले बताए ।

 

 

 

प्रकाशित: २० वैशाख २०७७ १५:५२ शनिबार

नाका लकडाउन भारतीय_सुरक्षाबल