समाज

लकडाउनले स्वच्छ वातावरण

लकडाउनका बेला खुलेको दिपायलको वातावरण । तस्बिरः अरूण/नागरिक

डोटी- कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै लैजादा त्यसको प्रत्यक्ष असर यसैगरी चैत–वैशाखले दर्शाउथ्यो । खडेरी लम्बिए यो दृश्य जेठ–असारसम्म पुग्थ्यो ।

यसपटक लगभग त्यो दृश्य देखिदैन्। त्यो दृश्य एकाएक अलप भएजस्तो । मानौः कतै युग फेरिएको छ । मौसम परिवर्तन भएको छ । ‘यो पटक त अचम्मै भयो । उहिलेझैँ पो वातावरण खुलेको छ,’ दिपायलका भोजबहादुर शाह भन्छन्, ‘पोहोर–परार त यो सिजन पुरै आगो लागेजसरी डाँडा छोपिन्थे ।’ अत्याधिक हुरी चल्ने यो सिजनमा विगतवर्षमा हुरीसंगै उडेर आउने माटो र धुलो समेतमा कमी आएको धेरैजसो अनुभव सुनाउछन । ‘आजभोली त हुरीबतास आउदा छतमा बसेर रमाउन मन लाग्छ,’ दिपायलका व्यवसायी नवराज जोशी भन्छन्, ‘अघिल्ला वर्षहरु जस्तो धुलोमाटो आउदैन् ।’  

वातावरणमा आएको सुधार जनस्वास्थ्यमा समेत परेको स्वास्थ्यकर्मीहरुको अनुभव छ । पोहोर–परारझैँ यसवर्ष आँखा पाँक्ने, रुँघाखोकी र मौसमी स्वास्थ्यप्रश्वासका बिरामीहरु नदेखिएको सुजङ्ग अस्पताल दिपायलमा कार्यरत अर्जुन बलायर बताउछन् । नोवेल कोरोना भाइरस(कोभिड–१९)को महामारीले लगभग सिङ्गो विश्व लकडाउनमा छ । नेपालमा लकडाउन भएको महिनादिन नाघीँसक्यो । यो अवधिमा अनियन्त्रित मानविय गतिबिधी रोकिदा वातावरणले राहतको स्वाँस फेरेको जानकारहरु बताउछन् । ‘वातावरणलाई त धेरै राहत भएको छ,’ डिभिज वन कार्यालय डोटीका प्रमुख सम्भुप्रसाद तिवारी भन्छन्,‘न वन डढेँलो, न कच्ची सडकहरु धुँलाम्मे बनाउदै कुद्ने र फोहोर धुँवा फाल्ने गाडीहरु, न उद्योग ! सब बन्द भएपछिको प्रभाव वातावरण सुध्रिएको छ ।’

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले वातावरण प्रदुषणका सबै स्रोतहरु बन्द हुनुले वातावरणमा अत्याधिक सुधार आएको बताउछन् । उनी भन्छन्,‘लगभग डेढ/दुई दशकयताकै उल्लेख्य सुधार आएको छ ।’ यो मौसममा वन डढेलो, अनियन्त्रिक विकास निर्माणका काम, हज्जारौं सवारी गतिबिधी, कच्ची सडकको व्यापकता र जहाँबाट उत्पन्न हुने धुवाँधुलो नै यस प्रदेशको वायू प्रदुषणको प्रमुख कारण रहेको उनको बुझाई छ । ‘यी सबै कुरा एकाएक थामिदा वातावरणमा शुद्धिकरण भईरहेको छ,’ उनले थपे ।

यो समयमा सिङ्गो मुलूूकको वातावरणमा पनि उल्लेख्य सुधार आएको वातावरण विभागका सूचना अधिकारी शंकर प्रसाद पौडेलले बताए । उनले भने,‘१२/१३ वर्षपछि त्रिशुली सङ्लो भएको खबर छ । वातावरणमा प्रदुषणको मात्रा घटेको छ ।’

अहिले दिनहुँजसो वातावरण प्रदुषण रोकथामको विश्व स्वास्थ्य संगठनको विश्वव्यापी मापदण्डलाई भेट्टाईरहेको उनले बताए । ‘राष्ट्रिय मापदण्ड त सहजै पार भईरहेको छ । विश्वव्यापी मापदण्ड पनि सहजै पार भईरहेको छ । जुन अघिल्ला बर्षहरुमा वर्खाको सिजनमा मुस्किलले एकदुईदिन हुन्थ्यो,’ उनले भने । उनका अनुसार नेपालको राष्ट्रिय मापदण्ड वायुमण्डलमा कार्वनको चाप २४ घण्टाको औषतमा ४० ‘माईट्रो’ ग्राम प्रतिघनमिटर रहेको छ भने, विश्व स्वास्थ्य संगठनले ४० ‘माईट्रो’ ग्राम प्रतिघनमिटर छ ।

नेपालमा ठूलो मात्राका कार्वन उत्सर्जन गर्ने सवारी साधनहरु, उद्योगधन्दाहरु, विकास निर्माणका कार्यहरु ठप्प रहदा वातावरणमा समेत स्वच्छता आएको उनले बताए ।

 

प्रकाशित: २० वैशाख २०७७ १३:१२ शनिबार

लकडाउन वातावरण