समाज

एकीकृत जाँच चौकी निर्माणको समय सकिन २ महिना बाँकी, काम ४० प्रतिशत

रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी । तस्बिर/हिमनाथ

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माणको समय सकिन दुई महिना मात्र बाँकी छ । तर आइसिपी भवनको काम ४० प्रतिशत मात्र सकिएको छ ।  

२०७५ पुसदेखि निर्माण सुरु भएको भवन निर्माणको काम सुरुदेखि नै सुस्त थियो । अहिले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण कामदार तथा निर्माण सामग्रीको अभाव भएपछि झनै सुस्त भएको छ ।

ठेकेदार कम्पनी श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनका अनुसार निर्माणको समयसीमा बढाउने प्रक्रिया अघि बढेको छ । पहिले ३६ जना कामदार थिए । अहिले २० जना कामदार छन् । उनीहरूले त्यहाँ आन्तरिक काम गरिरहेका छन् । सिमेन्ट पर्याप्त नहुँदा ठूलो किसिमको ढलान गर्न सकिने अवस्था नरहेको प्रोजेक्ट म्यानेजर योगेन्द्र तुम्बाहाङ्फेले बताए । जनशक्ति थप भएमा कामले गति लिने उनको भनाइ थियो  ।

निर्माण प्रक्रिया सुरु भएपछि आपूmले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा रिट हालेको थियो । अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो ।

न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो । सम्झौता अनुसार २०७७ असार २५ गतेभित्र भवन निर्माण गरिसक्नु पर्छ ।

भवन निर्माण गर्न तीन वर्ष लाग्ने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । तोकिएको समयमध्ये तीन वर्ष बित्नै लाग्यो । भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुने छ । ६१ करोड ९८ लाख ६८ हजार ७५ रुपयाँ खर्च हुने विभागले जनाएको छ । भवन पाँच तलाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । ठेक्का प्रक्रिया, अदालती प्रक्रियाका कारण निर्माणमा ढिलाइ भएको देखिन्छ ।

भवन निर्माणपश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । तर लकडाउनको कारण माघ १५ गतेदेखि नाकामा आवतजावत पूर्ण ठप्प छ ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

 

प्रकाशित: २० वैशाख २०७७ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App