समाज

६ दशकपछि हिरासत पक्ष रित्तो

काठमाडौं - सेवासुविधाका हिसाबले अग्रपंक्तिमा रहेको काठमाडौं उपत्यका आपराधिक गतिविधि गर्नेका लागि पनि ‘अखडा’ मानिन्छ। झन्डै ४० लाख जनसंख्या रहेको उपत्यकाका प्रहरी कार्यालय प्रायः सधैं अस्तव्यस्त रहन्थे। हिरासत कक्ष कोचाकोच हुनेगरी भरिन्थे। लकडाउन सुरु भएको ३८ दिन पुग्दा भने उपत्यका अपराधमुक्तजस्तै बनेको छ। यस अवधिमा सामान्य किसिमका बाहेक गम्भीर अपराध भएका छैनन्।

सबैभन्दा बढी भीडभाड हुने महानगरीय प्रहरी परिसर हनुमानढोका अहिले शान्त छ। बुधबारदेखि परिसरको हिरासत कक्ष पनि खाली भएको छ। परिसरका अनुसार यो हिरासत कक्षमा दैनिक एक सय ४० जनाभन्दा बढी थुनुवा हुन्थे। अहिले थुनुवा कोही पनि नभएपछि प्रहरीले हिरासत कक्षमा मर्मत तथा रङ लगाउने कार्य गरेको छ।

परिसर प्रवक्ता होबिन्द्र बोगटीले ६५ वर्षको इतिहासमा पहिलोपटक हिरासत कक्ष खाली भएको बताए। ‘उपत्यकाको सबैभन्दा बढी भीड हुने प्रहरी कार्यालय यही हो, यहाँ नै सुनसान भएपछि अरु प्रहरी कार्यालय सुनसान हुने नै भए’, उनले भने, ‘यो एकदमै राम्रो पक्ष हो।’ उनका अनुसार भूकम्पका बेला पनि परिसरमा थुनुवा र जाहेरी संख्यामा कमी आएको थियो तर शून्य नै भने थिएन। 

अरु बेला जघन्य अपराध तथा घरेलु हिंसाबारे सूचना दिन फोन आउने प्रहरी कार्यालयमा अहिले भने छिमेकीले चर्को गीत बजाएको, मान्छेहरु एकैठाउँमा भेला भएको र होहल्ला गरेको गुनासो सुनाउन फोन आउँछ।
 

अहिले उपत्यकामा सादा पोसाकमा तीन हजारभन्दा बढी प्रहरी फिल्डमा खटिएका छन्। ‘साँच्चै नै आपराधिक घटना नभएरै प्रहरी कार्यालयमा मुद्दा नआएका हुन्, यसमा हामी ढुक्क छौं। शंका लागेका कतिपय कुरामा प्रहरी आफैंले पनि अनुसन्धान गर्छ। हामीले आम नागरिकलाई केही भए खबर गर्नुस्, घरमै प्रहरी आउँछ भनेका पनि छौं,’ बोगटीले भने, ‘स्थानीयका फोन र गुनासो पनि अहिले कम आइरहेका छन्।’

१४ वटा प्रहरी वृृत्त रहेको काठमाडौंमा कीर्तिपुर र बौद्धमा मात्रै एकएकवटा मुद्दा चलिरहेका छन्।  पुराना मुद्दा र घटनामा संलग्न रहेका ३६ जना थुनुवा विभिन्न वृत्तमा रहेको प्रवक्ता बोगटीले बताए। उनले यी थुनुवा लकडाउनअघि नै आपराधिक क्रियाकलाप गरी भागेको र अनुसन्धानपछि प्रहरीले समातेको जानकारी दिए। उनका अनुसार उपत्यकामा अहिले लागुऔषधसँग सम्बन्धित घटना शून्य छ। 

लकडाउनअघि भने परिसरमा दैनिक औसतमा ५ वटा लागुऔषध, ४ वटा घरेलु हिंसा, ९ वटा चोरी÷लुटपाट, १५ वटा बैंकिङ कसुर र ८ वटा ठगीका उजुरी दर्ता हुन्थे। त्यसबाहेक उपत्यकामा एक महिनामा ५० जनाले आत्महत्या गरेका हुन्थे। लकडाउन सुरु भएयता ११ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाउँछ। 

महानगरीय प्रहरी परिसर ललितपुरमा पनि ३८ दिनमा तीनवटामात्रै जाहेरी दर्ता भएका छन्। ती जाहेरी आत्महत्यासम्बन्धी रहेको परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार परिसरमा लकडाउन अघि ५० जना थुनुवा हुन्थे। अहिले उक्त संख्या ३ मा झरेको छ। ‘अहिले हामीकहाँ अपराध शून्य भएको छ, मुद्दा र अन्य शाखाका प्रहरी कर्मचारीलाई लकडाउन केन्द्रित कार्यमा लगाएका छौं,’ उनले भने। भक्तपुरमा पनि अहिले अपराध शून्य बनेको छ। भक्तपुर प्रहरीका अनुसार ६ जना थुनुवा विभिन्न प्रहरी कार्यालयमा छन्। 

अरु बेला जघन्य अपराध, घरेलु हिंसा र विवाद भयो भनेर फोन आउने प्रहरी कार्यालयमा अहिले भने सामान्य विषयबारे गुनासो गर्न फोन आउँछ। ललितपुर परिसरका डिएसपी सन्तोष तामाङमा अनुसार हिजोआज छिमेकीले चर्को गीत बजाएको, मान्छेहरु एकैठाउँमा भेला भएको र होहल्ला गरेको भनेर फोन आउँछ। यस्ता घटनालाई अपराध भन्न नमिल्ने उनको भनाइ छ। ‘पहिलेपहिले अति नै नराम्रा खबर आउने, प्रहरीलाई कुदाकुद हुन्थ्यो, लकडाउनका बेला उपत्यका शान्त भएको छ, यसलाई सबै मिलेर कायमै राख्नुपर्छ,’ उनले भने। 

कार्यबोझ कम
विगतमा प्रहरी कार्यालयमा मुद्दामामिला हेर्ने शाखाका कर्मचारीलाई बढी टाउको दुखाइ हुन्थ्यो। लकडाउन यता भने उनीहरुले पनि आराम महसुस गरेका छन्। आपराधिक क्रियाकलाप कम भएपछि यस्तो जनशक्तिलाई पनि बाहिरी कार्यमा खटाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कार्यालयभित्र काम नभएपछि धेरैजसो प्रहरीलाई लकडाउन कार्यान्वयनतर्फ खटाइएको हो।

अहिले कार्यालयमा भन्दा बढी प्रहरी सडकमै खटिने गरेको प्रधान कार्यालयका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए। प्रहरी प्रधान कार्यालयले कार्यबोझ कम भएपछि प्रहरीलाई अनुसन्धानात्मक कार्यमा पनि परिचालन गरेको छ। ‘अहिले प्रहरीलाई मुद्दा मामिला त्यति हेर्नुपरेको छैन,’ शाहीले भने, ‘प्रहरी महामारी र लकडाउनतर्फ मुभ भएको छ।’ उनले चोरी, बैंकिङ कसुर, सवारी ज्यान, घरेलु हिंसा, डकैती र ठगीसँग सम्बन्धित अपराध शून्यमा झरेको बताए। 

दुर्घटनामा कमी 
देशैभर अहिले अत्यावश्यक बाहेक अन्य सवारीसाधन ठप्प छन्। सवारीसाधन ठप्प भएसँगै दुर्घटना पनि रोकिएको छ। दैनिक ७ देखि ९ जनासम्मले देशभर दुर्घटनामा ज्यान गुमाउँथे। लकडाउन सुरु भएयता भने दुर्घटनामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका एसपी जीवकुमार श्रेष्ठले सवारीसाधन रोकिएपछि दुर्घटना पनि रोकिएको बताए। उनका अनुसार लकडाउन भएयता उपत्यकाबाहिर केही सामान्य दुर्घटनामात्रै भएका छन्। ‘दैनिक त्यति धेरैजनाले ज्यान गुमाउँदै आएका थिए,’ उनले भने, ‘अहिले दुर्घटना रोकिएको छ, लकडाउनको राम्रो पक्ष यो पनि हो।’

 

प्रकाशित: २० वैशाख २०७७ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App