समाज

बाँकेमा औषधिबाहेकका व्यवसाय बन्द

राँझा - जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ।  कोभिड–१९ सङ्क्रमणका लागि जारी बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन सो समय औषधि पसलबाहेक सम्पूर्ण पसल व्यवसाय बन्द गराउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार १० बजेपछि अनुमतिबाहेकका सवारी साधन हिँडडुलमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी औषधि पसलबाहेक फलफूल, दूध, तरकारी, माछा मासुलगायत अत्यावश्यक सेवाका सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गर्न आग्रह गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यलयले अपराह्न ४ बजेदेखि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गराउँदै आएको थियो।

बन्दाबन्दीको अवज्ञा गरेमा कानूनबमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। रासस

प्रकाशित: १९ वैशाख २०७७ ०८:०३ शुक्रबार

व्यवसाय बन्द औषधि_पसल