समाज

वार्षिक परीक्षाको नतिजा रेडियोमार्फत सार्वजनिक गर्दै सामुदायिक विद्यालय

सिन्धुली- यहाँका सामुदायिक विद्यालयहरुले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न थालेका छन् । मुलुक बन्दाबन्दीको अवस्थामा रहेकाले विद्यालयहरुले वार्षिक परिक्षाको नतिजा सञ्चारमाध्यम रेडियोमार्फत सार्वजनिक गर्न सुरु गरेका छन् ।

गत चैत महिनाकै अन्तिम साता सार्वजानिक गर्नुपर्ने वार्षिक परिक्षाको नतिजा विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण हाल रेडियोमार्फत सार्वजनिक गर्नुपर्ने अवस्था आएको सम्बन्धित विद्यालयहरुले जनाएका छन् । कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षाको नतिजा सरदमुकामस्थित एक सामुदायिक रेडियोमार्फत विद्यालयहरुले धमाधम सार्वजनिक गरिहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले मुलुक लकडाउन गरेकाले नतिजा रेडियोमार्फत सार्वजनिक गर्नुपर्ने अवस्था आएको मावि नयाँखर्कका प्रधानध्यापक नबराज थापाले बताए ।

हाम्रो विद्यालयमा अध्यनरत सबै सबै विद्यार्थीको पहुँचमा इन्टरनेट छैन, त्यसैले इन्टरनेटमार्फत सार्वजनिक गर्नुभन्दा रेडियोनै उचित देखियो, उनले भने, गाँउमा धेरैको घरमा रेडियो सुन्ने चलन भएकाले रेडियोमार्फत सार्वजानिक गर्दा प्रभावकारी हुने देखिएकाले रेडियोबाटै नतिजा सार्वजनिक गरिएको हो । विगतका वर्षमा अभिभावक भेला गराएर सबै विद्यार्थीमाझ नतिजा सार्वजनिक गर्ने गरिएको भएपनि यो वर्ष कोरोना भाइरसको त्रासका कारण विद्यालयमा विद्यार्थी भेला गराइएको छैन । पछिल्लो एक सातादेखि सामाजिक दुरी कायम गरेर केहि शिक्षकहरु विद्यालयमा गएर नतिजा तयार पारेपछि रेडियोमार्फत सार्वजानिक गरिएको हो ।

सदरमुकाम तथा आसपासका विद्यालयहरुले धमाधम रेडियोमार्फत नतिजा सार्वजनिक गरिसेका छन् । सदरमुकामस्थित मावि पानीट्याङकीले नतिजा सार्वजानिक गरिएको विद्यालयका प्रधानध्यापक टोमप्रसाद काफ्लले बताए । कोरोना भाइरसका कारण अभिभावक भेला गराएर नतिजा सार्वजानिक गर्ने अवस्था नभएकाले रेडियोबाटै नतिजा सार्वजनिक गरिएको यहाँको कमलामाई नगरपालिका १३ स्थित प्रभात मावि रानीबासका प्रधानध्यापक अरुणकुमार थिङ बताउछन् । रेडियोबाट नतिजा सार्वजनिक गर्दा विद्यार्थी र अभिभावकले घरमै सुनेर जानकारी पाउने विश्वास लिएको उनले बताए ।

हामीले वार्षिक परीक्षाको रिजल्ट तयार पार्न भनेका हौ, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख नेत्र गजुरेलले भने, सामाजिक दुरी कायम गरेर नतिजा सार्वजनिक गर्न भनेका हौ । उनले विद्यालय आफै स्वतन्त्र नियकाय भएकाले विद्यार्थी र विद्यालयको पहुँच स्रोतको आधारमा नतिजा सार्वजनिक भएको हुनसक्ने बताए । सामुदायिक विद्यालयमा धेरै विद्यार्थी छैनन्, जहाँ धेरै विद्यार्थी छन्, त्यहाँ इन्टरनेटको पहुँच र सञ्जाल पनि छ भन्ने लाग्छ, उनले भने, रेडियोमार्फत नतिजा सार्वजनिक गर्ने एउटा प्रक्रिया हो ।

प्रकाशित: १९ वैशाख २०७७ ०७:२० शुक्रबार

वार्षिक_परीक्षा सामुदायिक_विद्यालय लकडाउन