समाज

कोरोनाविरुद्धको कोषमा २९ लाख ४८ हजार रकमान्तर

खोटाङ– कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले २९ लाख ४८ हजार रुपैयाँ रकमान्तर गरेको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको बजेट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोना विरुद्धको गतिविधि सञ्चालनका लागि कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शिर्षकको ३ लाख, अवलोकन भ्रमण कार्यक्रमको ५ लाख, न्यायीक समितिको पुर्नताजगी तालिमको ८ लाख, सुरक्षित आप्रवासन परियोजना (सामी)को साझेदारी कार्यक्रमको ६ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगीता तथा वार्षिकोत्सवको ७ लाख बजेट विपद व्यवस्थापन कोषमा रकमान्तर गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

लकडाउन पीडितलाई गाउँ ल्याउन तथ्यांक संकलन गरिँदै
बुधबार बसेको खोटेहाङ गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले काठ्माण्डौं उपत्यका लगायतका शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका पालिकाबासीलाई तततत स्थानमै राहत उपलव्ध गराउने निर्णय गरेको छ । शहरमा लकडाउनको मारमा परेका पालिकाबासीलाई घर ल्याउन पहल गरिएको भए पनि चैत ११ गतेदेखि सुरु भएको लकडाउन बैसाख २५ गतेसम्म लम्बिएका कारण परिस्थिति सहज नभएसम्मका लागि यथास्थानमा राहत उपलव्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘विभिन्न कामको सिलसिलामा काठमाडौंमा बसिरहेका खोटेहाङबासीलाई यथाशिघ्र बसमार्फत गाउँपालिकासम्म आउने वातावरण अनुकूल बनाउन प्रयत्न भइरहेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘उक्त अवधिसम्म यथास्थानको बसाइलाई सहज बनाउन बैकल्पिक व्यवस्थाको रुपमा दैनिक आवश्यकता पूरा गर्न सहयोग गर्ने निर्णय गरेका छौँ ।’

काठमाडौंमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका व्यक्तीलाई घर ल्याउनका लागि वडाध्यक्षमार्फत विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ । शहरबाट घर आउने व्यक्तिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गाउँपालिका स्तरिय समन्वय समितिको शर्त अनिवार्य पालना गर्नु पर्ने जनाइएको छ ।

बैठकले साना सिँचाई आयोजना अन्तरगत चार योजना छनौट गरेर अनुमोदन गरेको छ । बैठकले दुम्छाखोला राजाढुंगा सिँचाई योजना खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, दिलुङ खोला सकुलुङ मुखीताङ सिँचाई योजना खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, मिच्मालुङ खोला डाँडासिँचाई योजना खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी र तुवाखोला कुइभीर सिचाई योजना खोटेहाङ गाउँपालिका– ९ लिच्कीराम्चे सिँचाई योजना छनौट गरेको हो ।

प्रकाशित: १९ वैशाख २०७७ ०७:१३ शुक्रबार

कोरोना कोभिड–१९ कोष