समाज

बेलायती नागरिक जोन्स भन्छन् : ‘नेपाल सुरक्षित भएकै कारण आफ्नो देश गइनँ’

रसुवाको पर्यटन हबको रूपमा रहेको स्याफ्रुमा बसिरहेका बेलायती नागरिक सामुुयल जोन्स । तस्बिर/हिमनाथ

रसुवा- सामुयल जोन्स बेलायती नागरिक हुन् । तीन महिनाअघि उनी रसुवा आएका थिए । उनी अहिले पर्यटकीय हबको रूपमा रहेको स्याफ्रुमा बसिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिँदै जान थालेपछि अप्रिल ७ मा उनलाई पनि आफ्नो देशमा बोलाइयो । तर, उनलाई नेपाल नै सुरक्षित लागेपछि तत्काल फर्किएनन् ।

‘मलाई यहाँ अभियानमा सहभागी हुँदै गरेको अवस्थामा देश फर्कन मन लागेन’, उनले भने, ‘म अहिले जहाँ बसिरहेको छु यो स्थान निकै सुरक्षित पनि छ ।’ ‘यहाँ बाटो बन्द छ । बाहिरका मान्छे आउँदैनन्’ उनले थपे । नेपालमा अहिले करिब १५ सय बेलायतका नागरिक रहेको र उनीहरूमध्ये करिब ७ सय जना फर्किएको उनले जानकारी दिए । उनी अझै  पाँच महिना यहाँ रहन्छन् ।

अभियानका लागि उनी नेपालमा साढे २ वर्ष अघि नै आएका थिए । जोन्स बेलाबेलामा आफ्नो देश गइरहन्छन् । ‘मेरो परिवार लन्डनमा बस्छन्,’ उनले भने, ‘त्यहाँ त बाहिर निस्कन पनि पाइँदैन ।’ आफ्नो देशमा धेरै नागरिक मरेको प्रति उनले दुःख व्यक्त गरे । लकडाउनका कारण अहिले काम रोकिएको छ ।

उनी लगायतका उनको १० जनाको टिम अहिले रसुवामा नै बसिरहेका छ । उनी बाहेक अरु नेपाली छन् । १० जना नै अहिले लाङटाङमा बसिरहेका छन् । उनको दैनिकी अहिले त्यहाँबाट नजिकै रहेको दोभानसम्म पुग्छन् । ‘पहिलो त लाङटाङ, क्यान्जिनसम्म पुग्ने गरेको थिएँ’, उनले भने, ‘तर अहिले दोभानसम्म पुग्ने गरेको छु ।’

उनी सुरुमा नै रसुवा आएका हुन् त्यो बेलादेखि नै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने ठाउँको बोतल संकलन गर्ने कामको नेतृत्व लिएका छन् । पर्यटकीय क्षेत्रमा बढ्दो फोहोरका कारण विदेशी पर्यटक नआउने गरेको उनको अनुभव छ । त्यसकारण पनि उनले यो अभियानलाई निरन्तरता दिएका छन् । उनी नेपाली भाषा बोल्छन् । अबको उनको तामाङ भाषा सिक्ने लक्ष्य छ ।

नेपालको राष्ट्रिय निकुञ्जहरूमा प्लाष्टिकको बोतल संकलन गर्ने क्रममा उनले सानो क्षेत्र भएको निकुञ्ज र धेरै पर्यटक जाने क्षेत्र रोज्ने क्रममा यो निकुञ्ज रोजेका हुन् । उनले प्रति बोतल १ रुपयाँ दिन्छन् । उनका अनुसार रसुवाबाट मासिक ४० हजार बोतल संकलन हुन्छ ।

उनको समूहले संकलन गरेको बोतल पोखरामा रहेको कल्टिभेटिङ सर्कुलर इकोनोमिक्स इन द हिमालयमा लगिन्छ । त्यहाँ प्रशोधन गरेपछि नयाँ बोतल र पाइप निर्माण गरिन्छ ।

 

प्रकाशित: १९ वैशाख २०७७ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App