समाज

लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी

‍खाँदबारी - कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय संकटमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ। सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ। लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढ्न थालेपछि निरन्तररूपमा गस्ती भइरहेको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए। 

मकालु बरुण राष्ट्रिय निकुञ्ज दुई हजार ३३० वर्गकिलोमिटरमा फैलिएको छ। यो उच्च हिमाली क्षेत्रमा पर्दछ। निकुञ्जमा जडीबुटी, दुर्लभ वनस्पति र विभिन्न प्रकारका जीवजनावर पाइन्छन्। मानव बस्तीसमेत कम भएका कारण चोरी तस्करीहरु बढेको निकुञ्जले जनाएको छ। चोरी तस्करी गर्नेबाट निकुञ्ज क्षेत्रबाट जडीबुटी, दुर्लभ वनस्पति र काठ तस्करी गर्ने क्रम बढेपछि नेपाली सेनाको श्री रणभीम गुल्म र निकुञ्जका कर्मचारीले नियमित गस्ती गरिहेको सूचना अधिकारी पाठकले जानकारी दिए।

लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको उनले बताए। हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि निगरानी बढाएको निकुञ्जले जनाइएको छ। प्रतिकूल परिस्थिति भए पनि निरन्तर कार्यक्षेत्रमा खटिइरहेको सूचना अधिकारी पाठकको भनाइ छ। निकुञ्ज क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको छ। तस्करी बढेपछि निकुञ्जले त्यस क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। गस्ती टोलीले मकालु गाउँपालिका–२ ठूलो डाडाँमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काएको सूचना अधिकारी पाठकले जानकारी दिए। रासस

प्रकाशित: १८ वैशाख २०७७ ०३:४६ बिहीबार

कोरोना_भाइरस मानवीय_संकट तस्करी