समाज

राहत लिन पुग्दा प्रहरीको लठ्ठीबाट मजदुरको कानको जाली फुट्यो

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा ठेला चलाएर गुजारा गर्दै आएका भारत विहार मधुवनी जिल्लाका सुजित साहको घरमा मंंगलबार खानेकुरा मात्र सकिएको थिएन, भोकैले मर्ने चिन्ताले समेत सताउन थालेको थियो । लकडाउन भएको एक महिनापछि उपमहानगरपालिकाले राहत बाँड्न लागेपछि मंंगलबार साँझ उनको घरपरिवारमा मात्र खुसीयाली थिएन, ज्याला मजदुरीमा काम गर्ने छिमेकीहरु समेत चयनको स्वश फेर्दै थिए । दुई दिनअघि छिमेकीले दिएको चामलबाट मंगलबार आधा पेट मात्र खाएर उनी विहानको पर्खाइमा थिए ।

सुजित बुधबार विहान करिब ८ बजे छिमेकीसितै वडा कार्यालयमा वितरण भइरहेको राहत लिन तिरहुतीया गाछीमा लाइनमा लागे । तर राहत वितरण गर्ने ठाउँमा पुगेको आधा घण्टा नबित्दै उनको त्यो आशा निराशामा मात्र परिवर्तन भएन, प्रहरीको निर्घात लठ्ठी प्रहारबाट ज्यानै खतरामा पुगे । ‘लाइनमा भिडभाड भएपछि पुलिसले एकाएक आएर हट हट भन्दै २/३ लठ्ठी खुट्टामा हाने र एक लठ्ठी कानमै हानेपछि म बेहोस भएर ढले,’ उनले भने, ‘पुलिसले छउमै रहेको पाण्डे मेडिकलमा लगेर राखिदियो । उसले दबाइ दियो म सुतिसकेपछि प्रहरी डिउटिमै फर्किए ।

त्यसपछि घरका सबैजना आएर अस्प्ताल पुर्‍याए । त्यहाँ डाक्टरले दबाइ लेखदियो । पैसा नहुँदा औषधि नलिएरै फर्के ।’ त्यसपछि उनी रगत बग्दै गरेको कान समाउँदै आँखाबाट आँशु बगाउँदै उपचारका लागि भौँतारिदै थिए । ‘एकछिनपछि कानको जाली नै फुटेको रहेछ भनेर थाहा पाएँ । तर हामी गरिब छौँ । उपचारका लागि पैसा कहाँबाट ल्याउने ? सुरुमा दिएकै दबाइ खाएर बसेको छु,’ साहले थपे । स्थानीयहरुले न्यायाका लागि संचार माध्यमलाई घटनाबारे जानकारी गराउन भनेपछि उनी पत्रकार महासंघको कार्यालयमा आएर संचारकर्मीसमक्ष दुखेसो पोख्दै न्यायका लागि गुहारे । तर अति विपन्न परिवार रहेकाले अझै उनले थप उपचार पाउन सकेका छैनन् ।

प्रहरीको कुटपिटबाट उनको बाँया कान फुटेपछि उनले पिडा मात्र भोग्नु परेको छैन, सुन्ने क्षमता नै गुमाएका छन् । साह जनकपुरमा करिब २० वर्षदेखि ठेला चलाएर गुजारा गर्दै आएका छन् । उनले आफूमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन् । तर धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले साहको कानको जाली फुटेको कुरालाई इन्कार गरे । ‘मदिरा सेवन गरेर उनी लट्ठ भएर लाइमा थिए । भिडभाड हटाउन जाँदा उसले प्रहरीसँग झगडा गर्न थाले,’ डिएसपी कार्कीले भने, ‘भिडबाट हट्न नमानेपछि प्रहरीले खुट्टामा हिर्काएको रहेछ । त्यसपछि लडेर उनको कानमा समान्य चोट लागेको हो ।’

यसअघि समेत गएको वैशाख २ गते जनकपुरमै ट्राफिक प्रहरीको कुटपिटबाट एक एम्बुलेन्स चालकको कानको जाली फुटेको थियो । गणेशमानचारनाथ नगरपालिकाको गोदार हेल्थपोस्टका एम्बुलेन्स चालक २३ वर्षीय कृष्ण मण्डललाई जनकपुरको मुजेलियास्थित ट्राफिक प्रहरी जवान श्रवण रोय राजपुतले तीव्र गतिमा गाडी चलाएको भन्दै रोक्न लगाएर झापड हानेपछि उनको बाँया कानको जाली फुटेको थियो ।

प्रकाशित: १७ वैशाख २०७७ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App