समाज

अनुगमनलाई समावेशी बनाउन आग्रह

काठमाडौं- महिला, कानुन र विकास मञ्च (एफ्डब्लुएलडी) ले कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्था अनुगमनमा लैङ्गिक र सामाजिक समावेशीकरण बनाउन अनुरोध गरेको छ।

एफ्डब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण पत्र लेख्दै भनेका छन् ‘मानव अधिकार अवस्था अनुगमन सम्बन्धी सबै तहका सबै समितिहरूमा अनिवार्य महिला प्रतिनिधित्वको सुनिश्चितता सहित लैङ्गिक तथा सामाजिक समावेशिकरणयुक्त बनाउन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गर्दछौं ।’

राष्ट्रिय मानव अधिकार आयोगको अग्रसरतामा “कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्था अनुगमन नेटवर्क” को स्थापना गरेकोमा मञ्चले स्वागत गरेको छ। नेटवर्कको समितिहरूको सदस्य मनोनयन गर्दा समितिको समावेशितालाई ध्यान दिने भनिए पनि कतिपय समितिहरूमा महिला सहभागिता शून्य रहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ।

आपतकालिन अवस्थामा समेत अवरुद्ध गर्न नहुने यौन तथा प्रजनन् स्वास्थ्य सेवाको नियमित उपलब्धता, घरेलु हिंसा, यौनजन्य हिंसा तथा अन्य लैङ्गिक हिंसाको सम्बोधन र न्यायमा पहुँच लगायतका विषय नेटवर्कको कार्यविधिमा थप गर्न मञ्चले अनुरोध गरेको छ।

 

प्रकाशित: १७ वैशाख २०७७ १२:१५ बुधबार

कोरोना_भाइरस समावेशी महिला