समाज

सुरक्षित भएर समाचार लेख्न महासचिव विष्टको पत्रकारलाई आग्रह

उदयपुरका पत्रकारसँग अन्तरक्रिया गर्दै महासचिव विष्ट र सदस्य ओझा । तस्बिरः महेश्वर

उदयपुर- नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आफू सुरक्षित भएर मात्र समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । देशकै सबभन्दा बढी कोरोना संक्रमित फेला परेको उदयपुरे पत्रकारहरुको पछिल्लो अवस्थाबारे जानकारी लिन मंगलबार गाईघाट आएका महासचिव विष्टले पत्रकारहरु पहिले आफू सुरक्षित भएर मात्र समाचार लेख्न आग्रह गरेका हुन् ।

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझासहित आएका विष्टले सदरमुकाममा पत्रकारहरुसँग पछिल्लो अवस्थाबारे जानकारी लिदै समाजलाई पलपल सूचना अद्यावधि गराउने पत्रकार जगत कोरोना महामारीमा ज्यानको बाजी राखेर पेशा व्यवसायलाई जिवित राखेको कुरा राज्यले बुभ्mन नसकेको गुनासो गरे । सुरक्षाकर्मी, स्वास्थयकर्मी र जनप्रतिनिधिले तलव, भत्ता, सवारी साधन र सेवासुविधासहित कर्तव्य पालना गर्दैगर्दा पत्रकारले निशस्त्र भएर उनीहरुसँगै अग्रपंतिमा हार मिलाएर महामारीविरुद्ध साथ दिँदै आए पनि राज्यले उनीहरुको न्यूनतम आवाश्यकतासमेत पूरा गर्न नसकेको उनको गुनासो थियो ।

देशभरका ५४ मध्ये २८ जना अर्थात ५६ प्रतिशत संक्रमितको हिस्सा रहेको अवस्थामा उदयपुरका पत्रकारलाई  सुरक्षित तवरले रिपोर्टिङ गर्न सरकारले विशेष ध्यान दिनुपर्ने महासंघको माग रहेको उनले बताए । सबै पत्रकारको पेशागत र व्यवसायिक हकअधिकारको पैरवी गर्ने संस्था महासंघ भएकाले अहिलेको जटिल परिस्थितिमा उदयपुरका पत्रकारको सुरक्षा र संवेदनसिलताप्रति संघीय, प्रदेश र स्थानीय तीनैतहका सरकार गम्भीर बन्न उनले आग्रह गरे । यो विषम परिस्थितिमा तदारुक्ता र निडरतापूर्वक सूचना संप्रेसन गर्ने उदयपुरका पत्रकारको प्रशंसा गर्दै विष्टले रिपोर्टिङका लागि फिल्ड निस्कनुअघि आप्mनो सुरक्षामा ध्यान दिन आग्रह गरे ।

प्रेस काउन्सिल सदस्य ओझाले विश्वभर फैलिएको महामारीको जटिल अवस्थामा काउन्सिलले स्थानीय पत्रकारको सुरक्षा र हितका काम गर्न पत्रकार महासंघ र सञ्चार संस्थाहरुसँग एकाकार भएर काम गर्न चाहेको बताए । उनले काउन्सिलले बर्गीकरण गर्दा लकडाउनका अवधिमा प्रकाशन हुन नसकेका पत्रपत्रिकाको अंक घटाएर गणना गर्नेबारे काउन्सिलले छलफल अघि बढाउने आश्वासन दिए ।

अन्तरक्रियामा पत्रकारहरु कौशल चेमजोङ, महेश्वर चामलिङ, हरिकुमार राई, भोटराज राई, पर्शुराम थापा, यमन दनुवार र गणेश उप्रेतीलगायतले कोरोना कहर सहदै समाज, राष्ट्र र सञ्चार संस्थाका लागि गरेको पत्रकारको योगदानको कदर गर्न राज्यसमक्ष माग गरेका थिए । उनीहरुले कोरोना महामारीको विषम परिस्थितिमा बर्गीकरणमा परेका पत्रपत्रिकाको गएको पुसदेखिको बाँकी भुक्तानी रकम निकासा गर्न काउन्सिलको ध्यानाकर्षण गराएका थिए ।

 

प्रकाशित: १७ वैशाख २०७७ ०७:०७ बुधबार

सुरक्षित समाचार आग्रह