समाज

क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो

मार्तडी - बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएको छ। गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिहेको छ। सोही गाउँपालिका–२ माटेसाँघुमा रहेको देवस्थली माध्यमिक विद्यालयमा क्वारेनटाइन निर्माण गरेको भए पनि व्यवस्थापन राम्रो नभएको क्वारेनटाइनमा बसेका यज्ञ शाहीले बताए।

बस्ने बेञ्चबाहेक अन्य कुनै पूर्वाधार नभएको र अमानवीय व्यवहार गरिएको उनीहरुले आरोप लगाएका छन्। हाल धनगढीबाट आएका २५ जना सोमबारबाट उक्त क्वारेन्टाइनमा बस्न थालेका छन् तर उनीहरुको बसाइ र सुरक्षाको अवस्था असुरक्षित र अव्यवस्थित छ। क्वारेनटाइनमा बस्दा स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि कुनै पनि जाँच नगरेको र जाँचबिना नै क्वारेनटाइनमा राखिएको उनीहरुको गुनासो छ। २५ जनामा महिला र बालबालिका भए पनि व्यवस्थापन भने केही नभएको पाइएको छ। आफूहरुले घरबाट आफन्तसँग लुगा मगाएर बस्ने गरेको शाहीको भनाइ छ।

वडाध्यक्ष मीनबहादुर शाहीले भने आफूहरुले व्यवस्थापन गर्न लागिपरेको र गलत प्रचारमा नलाग्न आग्रह गरे। धेरै जना एकसाथ आएकाले केही असुविधा भए पनि व्यवस्थापन तत्काल गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए। प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने त्यसबारे बुझेर व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए। रासस

प्रकाशित: १७ वैशाख २०७७ ०३:४२ बुधबार

क्वारेन्टाइन गुनासो गाउँपालिका