समाज

रिपोर्ट बाझिएपछि मेसिनको गुणस्तरमा शंका

लहान - जनकपुरस्थित प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनले तीनवटा रिपोर्ट गलत दिएपछि परीक्षण बन्द गरी मेसिनको विश्वसनीयता जाँच गरिने भएको छ। यस प्रयोगशालामा परीक्षण गरिएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गराउँदा रिपोर्ट बाझिएको छ। तीनवटा रिपोर्ट बाझिएपछि प्रादेशिक प्रयोगशालाको मेसिनमा परीक्षण रोकिएको छ।

प्रादेशिक प्रयोगशालाले रौतहटका दुईजनाको स्वाब परीक्षण गरी नेगेटिभ रिपोर्ट दिएको थियो। तिनै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामापरीक्षण गराउँदा मंगलबार पोजेटिभ रिपोर्ट आएको छ। रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय युवक र देबाही गोनाही नगरपालिकाका ३५ वर्षीय युवकको पुनः परीक्षण रिपोर्टमा कोरोना संक्रमणपुष्टि भएपछि प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनको विश्वसनीयतामा प्रश्न उठेको हो।

प्रादेशिक प्रयोगशालाले परीक्षणपछि नेगेटिभ भनी रिपोर्ट दिएका तीन व्यक्तिको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ।
 

यसअघि वैशाख ७ गते पनि सर्लाहीको धनकौल गाउँपलिका ५ का १४ वर्षीय किशोरको स्वाब परीक्षणपछि प्रादेशिक प्रयोगशालाले नेगेटिभ रिपोर्ट दिएको थियो। तर राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षण गराउँदा भने रिपोर्ट पोजेटिभ आएपछि त्यति बेलै प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनको रिपोर्टमाथि शंका उत्पन्न भएको थियो। परीक्षण गर्ने प्राविधिकको नभई पिसिआर मेसिनकै गडबडीले रिपोर्ट सही नआएको प्रयोगशाला प्रमुख रामविनय साह बताउँछन्। 

कामै नगर्ने मेसिन
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्रादेशिक प्रयोगशालालाई पोर्टेबल पिसिआर मेसिन प्राप्त भयो।काठमाडौंबाट पत्रसहित आएका प्राविधिकले मेसिन जडान गरी चैत २१ गतेबाट परीक्षण सुरु गरे। सात दिन बसेर उनीहरु फर्के। त्यसपछि प्रयोगशाला प्रमुख रामविनय साह नेतृत्वमा तीनजना प्राविधिकले परीक्षण अघि बढाए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त मेसिन हामीले मन्दिरबाट प्राप्त प्रसादजस्तै ग्रहण ग¥यौं’,प्रयोगशाला प्रमुखसाहले नागरिकसँग भने,‘थोरै क्षमताको भएपनि मेसिन पाएर हामी खुसी भयौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त मेसिनमाथि शंका गर्ने कुरै भएन।

हामी लगातार परीक्षण गर्दै गयौं।’ भ्याएजति यसै मेसिनबाट परीक्षण गरेको र बाँकी नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदै आएको उनले बताए।

दिल्लीबाट फर्की चोरबाट हुँदै गाउँ पसेका सर्लाही धनकौलका १४ वर्षीय किशोरको आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो। वैशाख ६ गते दोस्रोपटकको परीक्षण पनि नेगेटिभ आएपछि उनी प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भए।

‘शंका लागेर उनको स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायौं’, साहले भने,‘११ गते रिपोर्ट आयो, जसले संक्रमण पुष्टि ग¥यो।’त्यसपछि आफूहरुले मेसिन जडान गर्न आएका प्राविधिकसँग भिडियो कन्फरेन्स गरेको उनले बताए।‘उहाँहरुले ठीक छ, रिपोर्ट दिनुस् भनेर मात्र दिएका हौं।

मैले ग्राफ देखाउँदा उहाँहरुले क्लियर नेगेटिभ छ भन्नुभयो। तर मेरो मन मानेन। मैले त्यो दिन परीक्षण गरेका सबै सातवटा स्वाब नमुना पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएँ’, उनले भने,‘जसमध्ये सर्लाहीका १४ वर्षीय किशोरको नतिजा उल्टियो, पोजेटिभ आयो। त्यसपछि हामी सशंकित भयौं र यहाँ परीक्षण गरेका सबै स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायौं।’ तीमध्ये चैत २७ र २९ गते नेगेटिभ रिपोर्ट आएकाको पुनः परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले बताए। ‘हामीमाथि मात्र नभई मानव स्वास्थ्यमाथि पनि खेलबाड भएको छ’, उनले भने,‘मैले बेलैमा शंका नगरेको भए धेरै गडबडी हुनेथियो।’

मेसिनले ठीक नतिजा दिएपछि आफूहरुको मेहनत खेर गएको अनुभूति भएको उनले बताए। ‘त्यसमाथि नेगेटिभ रिपोर्ट आएको भनी गाउँ फर्केकाहरु कति मानिसको सम्पर्कमा आएका होलान्? कहाँकहाँ घुमफिर गरेका होलान् ? सबैको कन्ट्याक ट्रेसिङ गर्नु कम्ता चुनौतीपूर्ण छैन’, उनले थपे। उक्त प्रयोगशालाबाट जनस्वास्थ्य प्रयोगशालामा पठाइएका अन्य नमुनाको भने रिपोर्ट आएको छैन। तीमध्येबाट पनि रिपोर्ट उल्टिन सक्ने सम्भावना रहेको प्राविधिकले बताए।

 

प्रकाशित: १७ वैशाख २०७७ ०१:०३ बुधबार

रिपोर्ट मेसिन गुणस्तर