समाज

राहतका लागि वितरण गरिएको चामल फिर्ता

इटहरी- राहतमा कमसल चामल दिएको भन्दै सुनसरी हरिनगर वडा नं. १ र २ का बासीन्दाले मंगलबार फिर्ता गरेका छन् । कोरोना भाइरसको माहामारीबाट पीडित भएका हरिनगरका दुईवटा वडाका एक सय भन्दा बढी परिवारलाई दिएको राहत चामल वडा कार्यालयमै फिर्ता गरेका हुन् ।  

चामल फिर्ता गर्नुअघि हरिनगरको रामनगर भूटाहामा स्थानीयले केही बेर सडकमा चामल राखेर प्रदर्शन गरे । सडकमा चामल राखेर प्रदर्शन गरेलगतै प्रहरी टोली पुगेपछि चामल उठाएर वडा कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले बताए ।

हरिनगर वडा नं. २ का नोसाद अनसारीका अनुसार, गाउँपालिकाले राहतमा वितरण गरेको चामल पकाएर खादा पेट दुख्ने भन्दै स्थानीयले फिर्ता गरेका हुन् ।  ‘भात पकाउँदा गिलो हुने र डल्लो हुने गर्छ,’ नोसादले भने, ‘सडकमा जाम गरि रहेका बेला प्रहरी आएपछि सवै संकलन गरेर वडा कार्यालयमा लगिएको हो ।’ हनिरगर गाउँपालिकाले अहिलेसम्म चार हजार पाँच सय परिवारलाई राहत वितरण गरेको छ । जसमध्ये वडा नं. १ र २ का बासीन्दाले कमसल भएको भनी राहत फिर्ता गरेका हुन् । तर, वितरण गरिएको राहत सबै खाद्य संस्थान विराटनगरबाट एउटै क्वालिटीको चामल हो ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अनसारीले आफ्नो चरित्रमा दाग लगाउने सोचले केही व्यक्तिको उक्सावटमा लागेर गलत आरोप लगाएको जिकिर गरे । ‘चामल राम्रो छ तर गलत अफवाह फैलाइयो,’ उनले भने, ‘केहीले प्लाष्ट्किको चामल हो, खादा पेट दुख्छ भनेर भ्रम फैलाउने काम भयो ।’ गाउँपालिकाले चामल खाद्य संस्थान विराटनगरबाट ल्याएर वितरण गरेको हो । गाउँपालिकाले प्रति परिवार १५ केजी चामल, एक केजी चामल, एक केजी नून र दुईवटा चाउचाउ वितरण गरेको थियो ।

खाद्य संस्थान विराटनगरका प्रमुख देवेन्द्र राईंले जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको चामल हरिनगर गाउँकमिटीलाई उपलब्ध गराएको र त्यो एकदम राम्रो भएको दावी गरे । ‘राहतका लागि वितरण गरेर फिर्ता गरेको चामल बढी मूल्य पर्ने भएकाले गर्दा तराईका जिल्लामा कमै मात्रमा बिक्री वितरण गर्ने गरिएको छ,’ उनले भने ।

यसैबीच, समाचार संकलनमा क्रममा हरिनगरमा पत्रकार नसिम अनसारीलाईं स्थानीय यूवाको एक समूहले दुव्र्यवहार गरि सञ्चार सामग्री समेत नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाको ध्यानाकर्षण भएको जनाएको छ।

समाचार संकलनका लागि हरिनगर वडा नं. २ मा पुगेका स्मार्ट २४ अनलाइन र वर्णमाला दैनिकमा कार्यरत पत्रकार अनसारीलाईं स्थानीय साजिद अनसारीसहितको समूहले दुव्र्यवहार गरेको हो । त्यो समूहले सञ्चार साधन (बुम) समेत नियन्त्रणमा लिएको थियो । पत्रकार अनसारीको सञ्चार साधन (बुम) प्रहरीले अहिले नियन्त्रण लिने युवाबाट फिर्ता गरि सकेको डिएसपी शर्माले जनाए ।

मुलुक यतिखेर कोरोना भाइरसको उच्च संक्रमणलाई रोक्नका लागि लकडाउनमा छ । कोरोनाको त्रास बढ्दो स्थिती छ । यस्तो विषम परिस्थितीमा सम्भावित जोखिमको ख्याल नगरि अग्रपंक्तिमा रहेर नागरिकलाई सुसूचित गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुका सट्टा दुव्र्यवहार गरिनु खेदजनक काम भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघ शाखाले घटनामा संलग्न साजिद पक्राउ परि सकेको र अन्यको समेत खोजी गरि संलग्नलाई कारबाही गरि पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १६ वैशाख २०७७ १५:४५ मंगलबार

राहतका चामल_फिर्ता