समाज

उदयपुर र भोजपुरको नाका ठप्प बनाउन माग

खोटाङ– समाजवादी पार्टी खोटाङले कोरोना भाइरसको संक्रमण भित्रिन नदिनका लागि छिमेकी जिल्ला उदयपुर र भोजपुरसँग जोडिएका नाका ठप्प बनाउन माग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित व्यक्ती फेला परेको उदयपुर र भोजपुरबाट खोटाङमा पनि संक्रमण भित्रिने खतरा बढेको भन्दै समाजवादी पार्टीले उदयपुर र भोजपुरसँग जोडिएका नाकाबाट हुने आवत–जावत पूर्णरुपमा ठप्प बनाउन माग गरेको हो । कोरोना भाइरसबाट बच्न र बचाउनका लागि जिल्लाको नाकामा कडाई गर्नुपर्नेमा जोड दिँदै मंगलबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई इमेलमार्फत ध्यानाकर्षण–पत्र पठाइएको समाजबादीका जिल्ला अध्यक्ष टंक थापाले बताए ।

समाजवादीले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि व्यवस्थापन, निगरानी तथा अनुगमन गर्न हरेक पालिका, वडा तथा टोलमा सर्वदलीय, सर्वपक्षीय समिति बनाउन, जनताको सबैभन्दा नजिकको निकायकारुपमा रहेको वडा कार्यालयलाई श्रोतसाधनयुक्त बनाउन, लकडाउन उल्लंघन गर्दै जिल्ला बाहिरबाट स्थानीय धमाधम भित्रिइरहेकाले संघीय सरकार र प्रदेश सरकारबाट कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने उपकरण झिकाई स्वास्थ्य परीक्षणको दायरा बढाउनका लागि ध्यानाकर्षण गराएका छन् ।

यस्तै, आर्थिकरुपमा विपन्न, बालक, वृद्ध, अपांग जस्ता असहाय, दैनिक ज्यालादारीबाट जिविका चलाइरहेका नागरिकलाई राहत व्यवस्था गरी सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था गर्न ध्यानाकर्षण गराइएको समाजवादीले जनाएको छ । समाजवादी पार्टीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय मजबुद बनाइनु पर्ने आवश्यकता औंल्याएका छन् ।

साझा संकटको सामना गर्ने सन्दर्भमा तीन तहका सरकारबीचमा समन्वय अभाव हुँदा नागरिकमा अन्योल छाएको र सुरक्षा जोखिम बढेको भन्दै समाजवादीले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र संयन्त्रलाई मजबुद बनाउन ध्यानाकर्षण गराएको हो ।

प्रकाशित: १६ वैशाख २०७७ १४:३० मंगलबार

कोरोना_भाइरस नाका लकडाउन