समाज

होम क्वारेन्टाइन उल्लंघन गर्ने एक युवा पक्राउ

खोटाङ– खोटाङमा होम क्वारेन्टाइन उल्लंघन गर्ने एक युवा पक्राउ परेका छन् । होम क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौंबाट शुक्रबार घर आईपुगेका हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २० वर्षीय यूवा पक्राउ परेका हुन् ।

१४ दिनसम्म होम क्वारेन्टीनमा बस्ने सर्तमा कबुलियतनामा गरेर घर ल्याइएका युवा घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए । होम क्वारेन्टीन उल्लंघन गरेकामा शनिबार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १७ वर्ष र २१ वर्षकी युवती पक्राउ परेको केही दिनपछि अर्का युवा पक्राउ परेका हुन् । पक्राउ परेका युवालाई ईलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ ।

लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका नगरपालिकाका १ हजार २ सय ६७ जनालाई नगरपालिकाले बिहिबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर घर फर्काइएको थियो । नगरबासीलाई १४ दिनसम्म होम क्वारेन्टीन वा क्वारेन्टीनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरपालिकाले जनाएको छ । होम क्वारेन्टीनमा बस्ने कबुलियतनामा उल्लंघन गर्ने स्थानीयलाई प्रहरीमार्फत नियन्त्रणमा लिएर क्वारेन्टीनमा लगेर राखिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रकाशित: १५ वैशाख २०७७ ०४:३३ सोमबार

होम_क्वारेन्टाइन पक्राउ