समाज

ज्ञानेन्द्रलाई पक्राउ गर्नुको कारण माग

काठमाडौं – सर्वोच्च अदालतले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई पक्राउ गरी थुनामा राख्नुको कारण सरकारसँग मागेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हो।

शाहीसहित दुईजनालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै महानगरीय प्रहरी परिसर जाउलाखेलविरुद्ध अधिवक्ता ईन्द्रप्रसाद अर्यालले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। सोही रिटमा सुनुवाइ भएपछि सरकारका नाममा आदेश जारी भएको हो।

सर्वोच्चको आदेश अनुसार अब प्रहरीले शाहीलाई थुनामा राख्नुको कारण लिखित रुपमा पेस गर्नुपर्नेछ। शाहीले सामाजिक सन्जालमा प्रहरीलगायतविरुद्ध अभद्र टिप्पणी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो। शाहीलाई कानुनविपरीत पक्राउ गरी थुनामा राखिएको र रिहा गर्नुपर्ने मागसहित बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो।

 

प्रकाशित: १५ वैशाख २०७७ ०२:५० सोमबार

ज्ञानबहादुर_शाही पक्राउ