समाज

लकडाउन सफल बनाउन कोठामै गाउँपालिकाको राहत !

खोटाङ– हाल काठमाडौंमा बसिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका कुमार राईले शनिबार- राहत स्वरुप १५ केजी चामल, दाल, नुन र तेल पाए । शहरमा बसिरहेको अवस्थामा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण मारमा परेका आफ्नो नागरिकलाई कोठामै पुगेर राहत बाँड्ने क्रममा राई परिवारले राहत पाएका हुन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे घर भइ हाल कोटेश्वरमा बसेर मजदुरी काम गर्दै परिवार पालिरहेका चन्द्र बिकले पनि गाउँपालिकाको राहत पाए । लकडाउनकाबेला कोठा बाहिर निस्कन नपाएको अवस्थामा गाउँपालिकाबाट कोठामै १० केजी चामलका साथमा दाल, नुन, तेल पाएको बिकले बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मजदुरी या अध्ययनकाक्रममा काठ्माण्डौं उपत्यकामा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहत दिन सुरु गरेको हो ।

आईतबारसम्ममा १६८ परिवारलाई राहत वितरण भइसकेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । शहरबाट गाउँ आए ‘लकडाउन’को उल्लंघन हुने र क्वारेन्टीनमा बस्नुपर्ने भएकाले शहरमा बसिरहेका पालिकाबासीलाई कोठामै खाद्यान्न पु¥याइदिने व्यवस्था मिलाइएको हो । कोठामै राहत पुग्दा पालिकाबासी दंग परेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा बसेर दैनिक जीवनयापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका गाउँपालिकाबासीलाई बैसाख ६ गतेदेखि राहत दिन सुरु गरिएको हो । ‘लकडाउन’का कारण दैनिक ज्यालादारीका काम गर्न नपाउँदा मारमा परेका मजदुर तथा विद्यार्थीलाई तत्तत् स्थानमा पुगेर राहत उपलव्ध गराउन थालिएको गाउँपालिकाका अध्यक्ष राईले बताए । ‘लकडाउन’मा दुःख पाएका नागरिकले बसिरहेकै ठाउँमा आवश्यक राहत पाउँदा राहतको महसुस गरेका छन् ।

राहतका लागि आव्हान गरिएको सूचनाका आधारमा सम्पर्कमा आएका पालिकाबासीलाई कोठा–कोठामै राहत पुर्‍याउने व्यवस्था मिलाइएको छ । फोन सम्पर्कमा नआए पनि नागरिकतासहित राहत लिन आएका पालिकाबासीलाई समेत खाद्यान्न वितरण भइरहेको राहत वितरणमा खटिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका वडासचिव सञ्जिव आचार्यले बताए । ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका आफ्नो गाउँपालिकाका श्रमिक मजदुर तथा विद्यार्थी लगायतको सहजताका लागि गाउँपालिकाले राहतका प्याकेज ल्याएको हो ।

विदेश जान लाग्दा ‘लकडाउन’ले काठमाडौंमै अड्किएका तथा कोरियन लगायतका विदेशी भाषा अध्ययनकाक्रममा शहर बजारमा रोकिएका पालिकाबासीलाई समेत सो राहत उपलव्ध गराइएको छ । तर कर्मचारी वा अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न व्यक्तिलाई भने राहत वितरण गरिएको छैन । ‘नागरिकलाई लकडाउन पालना गर भनेर मात्र हुँदैन, आवश्यक राहत पनि दिन सक्नुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हामीले शहरमा बसिरहेका पालिकाबासीलाई लकडाउनको पालना गरेर बस्नु, हामी कोठामै चामल ल्याइदिन्छौँ भनेर राहत बाँडिरहेका छौँ ।’

प्रकाशित: १४ वैशाख २०७७ १६:२२ आइतबार

लकडाउन राहत कोभिड–१९