समाज

राहतमा दलीय पक्षपात गरेको आरोप

रौतहट - रौतहटको एक नगरपालिकाले राहतमा दलीय पक्षपात गरेको र सरकारले निर्देशन दिएको अनुपातमा राहत वितरण नगरेको आरोप लागेको छ । जिल्ला सदरमुकाम गौर नगरपालिकाले सर्वदलीय संयन्त्र पनि नबनाई आफूखुसी राहत वितरण गरेको भन्दै कारबाहीको माग गरिएको छ । 

गौर नगरपालिकाको लागि गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयर पदका प्रत्याशी शम्भु साह कानुले गौर नगरपालिकाले राहत वितरणमा सरकारी निर्देशनको पालन नगरेको, सर्वदलीय संयन्त्र नबनाएको, दलीय पूर्वाग्रह राखेर राहत वितरण गरेको, राहत वितरणको लागि न्युनतम मापदन्ड पूरा नगरेको तथा राहत वितरणको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै छानबिन गरी कारबाहीको लागि माग गरेका छन् ।

नेकपा नेता साहले जिल्ला प्रशासन कार्यालय रौतहटलाई लिखित रुपमै छानबिन गरी कारबाहीको माग गरेका हुन् ।राहत वितरणमा अनेक किसिमको झमेला भएको भन्दै जिल्लाभर गुनासो आइरहेका छन् तर औपचारिक रुपमा छानबिन गरी कारबाहीको लागि माग गरिएको रौतहटको यो पहिलो घटना हो । यस विषयमा बुझ्न गौर नगरपालिकाका मेयर अजय गुप्तासित सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

प्रकाशित: १४ वैशाख २०७७ १२:२६ आइतबार

राहत दलीय_पक्षपात लकडाउन