समाज

हिमपहिरोमा हराएका पर्यटकको शव सय दिनपछि फेला

 पोखरा - अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परि हराएका मध्ये दुईजना कोरियाली पर्यटकको शव एकसय दिनपछि भेटिएको छ। दुईजना कोरियाली सहित हिमपहिरोमा हराएका मध्ये अहिलेसम्म चारजनाको शव फेला परेको छ। दुईजना नेपाली मजदुरको शव यसअघि नै फेला परेको थियो। हिमपहिरोमा अझै एक नेपाली र दुईजना कोरियाली हराएका छन्।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार एकजना पुरुष र अर्की महिला कोरियन पर्यटकको शव शनिबार फेला परेको भएपनि हेलिकप्टर लगेर आईतबार मात्र पोखरा ल्याइएको हो। दुवैजना पर्यटकको शव पोखरास्थित क्षेत्रीय अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरेर सम्बन्धित मुलुकलाई बुझाईने डिएसपी कार्कीले बताए।

‘शनिबार शव फेला परेको भन्दै स्थानीयबासिले जानकारी दिएका थिए। आइतबार सेनाको हेलिकप्टर गएर शव पोखरा ल्याएको हो,’ उनले भने। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत माघ ३ गतेदेखि त्यस क्षेत्रमा हराएका थिए। मोदी खोलाको किनारमा उनीहरुको शव फेला परेको केसीले जानकारी दिए।

एबिसी पदयात्रामा रहेका ती पर्यटक अधिक हिमपातपछि गन्तव्यसम्म पुग्दै नपुगि बिचबाटै फर्किदा हिमपहिरोको चपेटामा परेका थिए। समुन्द्री सतहदेखि करिब ३२ सय मिटर उचाईको उक्त घटनास्थलमा हराएका कोरियाली पर्यटक भेट्न त्यो बेला हिमपात बाधक बनेको थियो। पदमार्गमा हिमचुलीबाट झरेका दुईवटा हिमपहिरोले तल आईपुग्दा भीषण रुप लिएको थियो। माथिबाट झरेको हिमपहिरो तलसम्म आइपुग्दा  बाँडिएर ३–३ तिर विभाजित हुँदा पदमार्गमा हिडिरहेका पदयात्री मारमा परेका थिए। पदमार्ग अन्तर्गत हिङ कु केभ र देउरालीबीचमा आएको हिमपहिरोमा ती पदयात्री हराएका थिए।

यसअघि खोजीको क्रममा उक्त क्षेत्रमा पर्यटक र मजदुरका केही व्यक्तिगत सामाग्री यसअघि नै फेला परेपनि शव भेटिएको थिएन। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष सुशील पौडेलले हिउ पग्लेपछि बल्ल पदयात्रीको शव फेला परेको बताए। ‘जुन ठाउँमा पुरिएको आशंका गरिएको थियो। त्यही ठाउँमै पर्यटकको शव भेटिएको हो,’ पौडेलले भने, ‘यसअघि आशंका गर्दै खोजि गरेको ठाउँमै शव फेला परेको हो। तर, बाक्लो हिउँ जमेकोले यसअघि भेटाउन सकिएको थिएन।’

केहीदिन अघि पनि एकजना नेपाली मजदुरको त्यही ठाउँमा शव फेला परेको थियो। हराएका अरु पनि अब फेला पर्ने सम्भावना रहेको उनले बताए।  बाक्लो हिमपातले गर्दा घटनालगत्तै खोजीका लागि गएको सुरक्षाकर्मी र पदयात्राको मजदुर तथा स्थानीयबासि फर्केका थिए। हिउँ नपग्लेसम्म फेला पर्ने सम्भावना नरहेको भन्दै उनीहरु फर्केका थिए। ‘हिजो शव देखिएकोमा आज बल्ल निकालिएको हो। स्थानीय व्यावसायीले पनि देखेका रहेछन,’ उनले भने।

 

प्रकाशित: १४ वैशाख २०७७ १२:०२ आइतबार

अन्नपूर्ण हिमपहिरो आधारशिविर