समाज

कृषकको दूध त्रियुगा नगरपालिकाले किन्ने

गाईघाट - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा त्रियुगा नगरपालिकाले दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन शुरुआत  गरेको छ।कोभिड–१९ को थप जोखिम हुन नदिन  स्थानीय प्रशासनले भुल्केलाई सिल गरेपछि स्थानीयवासीले दैनिक उपभोग्य वस्तुमा समस्या झेल्न परेको व्यापक गुनासो उठेपछि सो नगरपालिकाले उपभोग्य वस्तु सहज उपलब्ध गराउन  थालेको हो। अहिले नगरपालिकाले गाउँको पसलमा दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने र स्थानीयवासीसम्म पुर्‍याउने व्यवस्था शुरु गरेको हो।

नगर प्रमुख बलदेव चौधरीका अनुसार नगरपालिकाले त्रिनपा–३ का वडाध्यक्षलाई भुल्केमा कुनै एक पसल सञ्चालनको व्यवस्थाको पहल गर्न लगाउने र सो पसलमा सबै उपभोग्य वस्तु उपलब्ध गराएर गाउँलेलाई वितरणको व्यवस्था मिलाइएको छ।भुल्केका ५५ घर मुस्लिम र अन्य ३०० घर पहाडी समुदायका  पसलमा नै दैनिक उपभोग्य वस्तु ग्यास, चामल, तेल, दाल, नुन र साबुन जस्ता वस्तु आपूर्तिको व्यवस्था गरेर पालैपालो वितरण गर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ।

यस्तै  पशुपालक कृषकको दूध त्यत्तिकै खेर गएको भन्ने गुनासो आएपछि अहिले नगरपालिकाले स्थानीयस्तरमा नै दूध खरिद बिक्रीको व्यवस्था मिलाएको  र दूध बिक्री नभए प्रत्येक दिनको कृषकको दूध नगरपालिकाले लिने र नगरपालिकाले नै पैसा भुक्तानी दिने व्यवस्था गरेर कृषकको दूध बिक्रीको समस्या समाधानको व्यवस्था मिलाइएको छ। यस्तै गाउँलेका लागि धान पिसान गर्न एउटा मिल दैनिक चल्न दिने र दूरी कायम गरेर भीडभाड नगरी पालैपालो मिलमा कृषकले धान पिसान गर्न सहज बनाउने कार्य पनि शुरु गरिएको  नगरप्रमुख चौधरीले जानकारी दिए। 

भुल्केमा पहिलो पटक शुक्रबार भुल्केवासीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको र अब फेरि स्थानीयवासीको पुनः स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य उपचार तथा परीक्षण गर्ने व्यवस्था मिलाएको पनि  नगरपालिकाले जनाएको छ।जिल्लाका विभिन्न स्थानमा ५३० जनाको स्वाब नमूना सङ्कलन भएको ती मध्ये  ५१३को रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। जिल्लाका विभिन्न क्वारेन्टाइनमा २१६  रहेका  छन् । रासस

प्रकाशित: १४ वैशाख २०७७ ०९:१० आइतबार

नगरपालिका उपभोग्य_वस्तु उपलब्ध